टंक सिटौला

महंगाइमा उब्जनी बेचेर जीवन थेग्न गाह्रो भो
अब त जिउनलाई मान बेच्नुपर्ने भो
जीवन उकास्ने कोसिसमै शान बेच्नुपर्ने भो
किन्नुपर्ने पच्चीसमा उस्को पैसा पुर्याउनै साह्रो
आफ्नो चैं उब्जनी पाँचमा पनि बेच्न गाह्रो
किन्नु र बेच्नु बीचको अन्तर मिलाउनै गाह्रो हो
महंगाइमा उब्जनी बेचेर जीवन थेग्न गाह्रो भो ।

पेट्रोल सय कटिसक्यो ग्यास हजार नाघिसक्यो
जनता सबै हैरान छन खर्च दोब्बर भैसक्यो
आय पच्चीसको पच्चीस व्यय पचासमा आइसक्यो
लेन-देनको तारतम्य मिलाउनै अप्ठ्यारो भो
नखाई बाँचौं भन्नुमात्र प्राण औधी प्यारो हुन्छ
मनुष्य जुनी पाएपछि बस्त्र नलाई कहाँ चल्छ ।

मेहनतले छाक टार्न कसैलाई गाह्रो छ
अन्न बस्त्र र बासको जोहो मिलाउन साह्रो छ
निर्धनलाई महंगाइमा सपना हुर्काउन गाह्रो भो
महंगाइमा उब्जनी बेचेर जीवन थेग्न गाह्रो भो ।