साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता : खाँचो

Chovar Blues Mobile Size

राजादेखि भिखारीसम्म सबमा
खाँचो छ धेरै कुरा
कस्तै यत्न गरौँ हुँदैन कहिल्यै
खाँचो कसैको पूरा
खाँचो शब्द रचेछ हाय विधिले
कस्तो गजब पारको
संसारी सुखता रहेछ बुझियो
यस्कै अधिकारको
खाँचो भो बलको र पौरख कुनै
गर्नै नसक्ने भएँ
खाँचो ज्ञान भएर आज सबका
सारै पछाडि रहेँ
कसले गर्छ सहाय आपदमहा
खाँचो छ सन्मित्रको
खाँचो देख्दछु स्वच्छता सुगुणता
आफ्ना मनै भित्रको
लाउँ धाक रवाफ मोज गरौँला
भन्ने इरादा थियो
यो इच्छा कसरी पुगोस शिव हा
खाँचो छ सम्पत्तीको
राखौं प्रेम म सुन्दरीसँग भने
खाँचो छ सौन्दर्यको
इच्छा माफिक काम केही नहुने
खाँचो ठूलो भाग्यको
सारै हेपित बन्नु पर्दछ सँधै
खाँचो हुँदा शक्तिको
नेता शासक भ्रष्ट देशभरका
खाँचो छ देश भक्तिको
जाउँला पछि दिव्य लोक कसरी
खाँचो छ सद्धर्मको
भोग्नै पर्दछ छ दण्ड आखिरमा
आफ्ना सबै कर्मको
खाँचो टार्न सकिन केही गरदा
योगी हुने मन भयो
योगी पो कसरी बनौं शिव हरे !
खाँचो छ बैराग्यको !

बिराटनगर, मोरङ

प्रतिक्रिया
Loading...