साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः फेरि एकपल्ट

Chovar Blues Mobile Size
प्रल्हाद ढकाल

फेरि एक पल्ट
फाटेको अण्डरप्यान्ट लाएर
आली-आली फिलिली दगुर्न मन छ

धोक्रो बोकेर
पाँउदुरेको उकालो हुँदै
देउरालीमा पुगेर बिसाउन मन छ
धोक्रेखोलाको भिर बाट
आफैतिर फर्कने गरी
सुइइअँ सुसेली हाल्न मन छ

तुर्के चउरमा केटाहरु सँग
कबर्डी खेल्न मन छ
केउरिनी चौतारी पुगेर
रापुको पसलको पिपलमेठ खान मन छ
चुलडाँडा बाट केतुकेको पातमा बसेर
फलिली चिप्लेटी खेल्न मन छ

 

बडेमानको ढुङ्गा बोकेर
स्कुल सम्म पुर्याएर
श्याम सरको स्याबासी खान मन छ
दुतमानको पसलको तिलौरा कुटुक्क टोक्न मन छ
कोर्ट बाट बाहिर निस्केको भलिबल
एक पटक बुडुम्म ठोक्न मन छ

धुर्बे गनिशे राजने र राजिन्द्रे सँग
मल्ल युद्ध गर्न मन छ
सालबिसौना बाट बर्षाको तादीमा
गणखार सम्म बाँकटे हान्न मन छ
चुचुरे ढुङ्गा बाट घुमाउने दहमा
उँधोमुन्टो लाएर फालहाल्न मन छ

sagarmani mobile size

गुरुङ्गडाँडाको उखु
सौसाँझै खुसुक्क चोर्न मन छ
पट्टाबारीको भब्बु मागेर
केटीहरु सँग साँधेर खान मन छ
गोरेसँग लठ्ठीमा धागो बाँधेर
बल्छी खोल्न जान मन छ

भतिजो सँग बाघटार पुगेर
खन्ट्याङ्ग खन्ट्याङ्ग एक खुट्टाले
साइकल कुदाउँन मन छ
ट्रकको साँङ्गलामा झुण्डेर
खालासी सँग लड्दै
लब्दु सम्म पुग्न मन छ

आमोइले सन्दुकमा राखेको
एक ठेकरो घ्यू
सुटुक्क सिनित्तै पार्न मन छ
पिटाई खाएर रुँदारूँदै थाकेर
उनकै खाटको छेउमा
लुटुक्कै निदाउन मन छ

रोपाइँको खाजा
चिउरा आलु केराउको तिहुन
हिलै हातले लटपट्याएर खान मन छ
बीउको मुठ्ठाले टाढैबाट
रोपारलाई ताकेरै
पुक्क लाग्ने गरी हान्न मन छ

चिन्नेभन्ज्याङ्ग बाट
पुच्छर हालेको चङ्गा उडाउँदै
गेर्खु सम्मै पुर्याउँन मन छ
साउनेपानीको ऐंसेलु टिपेर
ठसक्क ठुस्केकी
उजेलीलाई फकाउन मन छ ।

जोर मादल घन्काएर
डाँडागाउँको हाउडे मामालाई
छमछम नचाउँन मन छ
जाँड खाएर भाँडिएका
नारनदाइलाई
जाँडै ख्वाएर फकाउन मन छ

नरहरी र माधब सँग
लखर लखर रातभरी
खेत बगर कुलैकुलो डुल्न मन छ
महिनाको दुई चार पटक
छताछुल्ल पाराले
चौथी खेल्न मन छ

आँपचौर र खोकवारी पुगेर
डोको भरी सर्लक्क मिलाएर
सिरुको घाँस काट्न मन छ
कुट्मिराको बोटमा चढेर
जुरेली गुँडमा सुटुक्क
बचेरा कत्रा भए जाँच्न मन छ

दुई एकान दुई दुई दुने चार
फेरि एक पटक घोकेर
कण्ठै पार्न मन छ
फष्ट ब्वाई भएर
उत्तम मनका रेखा सरिता
र सर मिसहरुको शेखी झार्न मन छ

फेरि एक पल्ट
फाटेको अण्डरप्यान्ट लाएर
आली-आली फिलिली दगुर्न मन छ ।

प्रतिक्रिया
Loading...