मलाई
एउटा लामो लौरो चाहिएको छ
तिखो, लामो लौरो
त्यो लौरोले म सुरुमा हावा छेड्छु
त्यसपछि बादल छेड्छु
त्यसपछि आकाश छेड्छु
हावाको चिसो
बादलको सेतो
र आकाशको नीलो छेडेर बनेको प्वालबाट
नियालेर हेर्दा
खराउ लगाएर हिँडिरहेका
देवताका पइताला देखिन्छन् होला
वर्षौअघि बितेका मेरा पुर्खाहरू देखिन्छन् होला
नाच्न नजान्ने इन्द्रको आँगनमा
नाचिरहेका अप्सरा देखिन्छन् होला ।

रिटायर्ड बृद्ध पेन्सनको लाममा बसे जस्तै
८४ लाख जन्म–मृत्युको दस्तुर तिरिसकेर
ब्रह्मामा लिन् हुन नाम लेखाएर
खुइय गर्दै
पालो पर्खिरहेका बृद्ध आत्माहरू देखिन्छन् होला ।

मोटो सिसाको चश्मामा
लामो सेतो दाह्री भएको
५,००० वर्ष बूढो चित्रगुप्तले
धूलो लागेको पूरानो ढड्डामा
स्वर्ग जाने र नर्क जानेहरूको
नाम रेकर्ड जाँच्दै गरेको देखिन्छ होला ।
उनी बस्ने मेच पछाडिको
सानो कालो खोपीबाट
स्वर्ग पठाउनुपर्ने अपराधीहरूको गोप्य सूची
कसैले दिँदै गरेको देखिन्छ होला ।

कसैले थाहा नपाउने गरी
स्वर्गको एउटा टुक्रा जग्गा
नर्कको नाममा पास गर्न
इन्द्र र यमराजबीच
वार्ता भइरहेको देखिन्छ होला ।

किराले मक्काएको
कल्पवृक्षको हाँगामा फलेका
अनौठा अमिला तिता नमीठा
फल खाएर
बान्ता गरिरहेका देवगणहरू देखिन्छन् होला ।

मलाई
एउटा लामो लौरो चाहिएको छ
तिखो, लामो लौरो ।