सन्दिप लेप्चा

बा आज त हजुरको मुख हेर्ने दिन रहेछ नि है
खै किन हो किन
सायद सँधै नै हेर्न इच्छा भएर होला
त्यस्तो खास लागेन
तर बकवास पनि लागेन
आखिर यसमा हजुरको नाम जो जोडिएको छ

ठूला उपहार दिन सकिन बा तिम्लाई
उपहार त के
तिम्रो अनुहारमा हेरेर ह्याप्पी फादर डे बा
सम्म पनि भन्न सकिन तिम्लाई

गाउँमा आफ्नो पसिना बन्धक राखेर
सहर दिएका छौ मलाई
आफू आधापेट बसेर भएनि
मीठो खानाको रहर दिएका छौ मलाई

कति फरक छ नि है बा
तिम्ले लगाएको त्यो गोल्डस्टार र
मलाई किनिदिनुभएको जोर्डन नाइकमा
तिमी हिँड्ने लोकल बस
अनि म हिँड्ने साथीहरुको मोडर्न बाइकमा

तर मेरो पनि सपना छन बा
जुन त्याग तिम्ले मेरा लागि गर्यौ नि बा
त्यसको एक एक मूल्य चुकाउन मन छ मलाई
तिम्रा शिरमा टेक्न खोज्ने ती सबलाई
तिम्रो पाउमा झुकाउन मन छ मलाई

आज जुन हातसँग
मेरो कारण एकछिन खाली समय छैन
मलाई दिनलाई पूरा गाडी भाडा छैन
भोलि त्यही हातमा घडी बाँधी दिन मन छ मलाई
हो त्यही हातमा भोलि होन्डाको चाबी दिन मन छ मलाई

आज जुन घरमा तिमी दुःखका गीत गाउँदै छौ नि बा
भोलि त्यही घरमा सुखका बाजा बजाउन मन छ मलाई
पसिना र झरीले भिजेर च्यातिएका ती कोट नफाल्नु है बा
भोलि म्युजियममा राखी सजाउन मन छ मलाई ।

 

 रोङ गाउपालिका इलाम