साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः रसातल

मनिष प्रज्ञा

त्यसपछि यमवतन मेघहरु गर्जिन पुग्छन्
त्यो सुनसान् खण्डहर गाउँमा
जहाँ एक जोडी बुढिंदै एक्लिदै इतिहासका पात्र बन्दै छन्
जहाँ खेत-खेतमा आली-आलीमा खोरिया-खोरियामा
सिङ्गो बस्ती हराउने झार उम्रेका छन्
जसको हलो र जुवा एक पृथ्वी टाढा छन्
निर्वस्त्र उसका इमान पारिलो घाममा डढेका छन्
जहाँ जडिबुटीका बुट्यानहरुमा
डोजरले पदचिह्न छोडेका छन्
जहाँ भोलिका कर्णधारहरु
कम्मरमा डोरी बाँधी तर्दछन् काली सेती र भेरी
हो
त्यहीँ यी मेघहरु बर्सिन्छन् गर्जिन्छन् र बगाइदिन्छन्
यस जगतका सारा चराचरहरु अश्रुसरी
जसरी बगे छुन नहुने जात लास बनेपछि
जसरी तुहुाइए गर्न नहुने प्रेम घात बनेपछि
उता
सहरका चोक-चोकमा गल्ली-गल्लीमा
व्यर्थ वादका झण्डाहरु फर्फराइरहेछन्
सबैलाई मञ्च चाहिएको छ
सुशासन र परिवर्तनका भाषण गर्न
बथानका बथान सभाहरु भर्न
सबैलाई सडक चाहिएको छ
जुलुस र नारावाजी निकाल्न
अनशन र धर्नाहरु ओकल्न
जहाँ पिपाशुहरु कौमार्यको कोतपर्व मनाउँछन्
जहाँ सितामोलहरु गरिबीको मोल बताउँछन्
विदेशी टालोमा नाङ्गिएर
कठपुतलीको सम्मोहनमा भाँसिएर
तराईलाई पराई भन्दछौ
पहाडलाई लाटो भन्दछौ

हिमाललाई अपांग भन्दछौ
फेरि पारिजातलाई अनागरिकै मार्नुछ
फेरि महाकविलाई बलेँसीमै ढाल्नुछ
छोडेर ऋषिहरुको तपोवन
दलहरुको पनि दले बन्नुछ
भोरलाई पछ्याउँदै उजुरका उजुर खप्टिन्छ
रातलाई कोट्याउदै लङ्गुरका लङ्गुर बौरिन्छ
किनभने भोलि फेरि
विश्वविद्यालयमा भोटे ताल्चा लगाउनुछ
सिंहदरबारमा स्यालको जन्ती डाक्नुछ
कालापानीको चिसो जल सुन्दरीजलमा झार्नुछ
सहिदको नाउँमा भोट माग्नुछ
भोटको नाउँमा सहिद बनाउनुछ
बुद्धलाई बन्दुक भिराएर
यो रसातलको मंगलदीप जलाउनुछ…।

 

ठेगाना : मलेखु , धादिङ
फोन नं. : ९८६०६९५६६९

प्रतिक्रिया
Loading...