साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता: मेरा दृढ पाइलाहरू

ओम कुमारी बन्जारा रानाभाट

दुई चार बोरा सपनाका भारी खन्याएर कहाँ भरिन्थ्यो र इच्छाको सबै भन्दा ठूलो भकारी
म बिना मेहनत लेखिएका सम्मानका चाङ सिरानी हालेर निदाउन खोज्छु
कहाँ लाग्छ र निद्रा पातमा
शीत टलक्क टल्कँदासम्म
पखेटा नभएका चराका बच्चा उड्न खोजे झैँ
मेरो भासिएको मनले कहाँ छुन सक्छ र सगरमाथाको शिर

म अलमलिन्छु वर्तमान भूत र भविष्यका दोसाँधहरूमा

बाटो लाग्नुभन्दा पहिले नै
गोडा लल्याकलुलुक हुन्छन् मेरा
आफ्नै अगाडि मेरा खुट्टा तान्नेहरूको जमात देखेर
पेटको बच्चाले भविष्यको चिन्ता गरेको
कहाँ थाहा पाउछिन् र पेटमा लात्ती हान्दा
मख्ख पर्दै सुमसुम्याउने पेट बोकेकी आमाले
कल्पनाको सहरमा वेभाउ बिकिरहेका छन् मनका तरङहरू
सुनामी चल्ने भविष्यवाणी गर्छ पोखिएको मनले
लाजको घुम्टो ओढेका आँखा एकान्तमा पोखिन चाहन्छन्
समुद्र नै डुबाउने सल्लाह गर्दैछन् दुवै नयनले
ओठको हाँसोले बसाइँ सरेपछि खडेरी परेको छ खुशीको घरबारी
डढेलो लागेको घरबारीमा खुशी उमार्न कहाँ सकिन्छ र महोदय

bahulako diary small and inside post

देख्न छोड्नुपर्छ निरीहले गगनचुम्बी सपना
यो बिब्ल्याँटो परिवेशभित्र
हात समातेर डोर्याउने नभए पनि
मेरा रहरहरू सञ्जीवनी खोजिरहेका छन्
जहाँ मेरा रहरहरूको अन्तिम संस्कार गर्ने अगुल्टो खोजिरहेछ युगले
ठीक त्यसै विन्दुबाट
म पनि चिच्याएर घोषणा गर्छु
अब सिर्जनाको धरहरा रच्न उठेका
मेरा पाइला
नव निर्माणको सगरमाथा चुम्न उचालिएका मेरा खुट्टा
कदापि रोकिने छैनन्
ए आहारिसे युग
तैंले अब मेरा दृढ अठोटका पाइला
तान्न सक्ने छैनस् !

 

सामाखुसी काठमाडौँ

प्रतिक्रिया
Loading...