एउटा दृश्य हाटबजारको
जहाँ किनबेच हुन्छ
राज्यसत्ताबाट स्थापित
विसंगतिका घरेलु कारखानामा
उत्पादित बाइप्रडक्टहरू ।
स्टलमा सजाइएका
ननभेज परिकारहरू छन्
नितम्बको चौडाई
स्तनको गोलाई
कम्मरको छिनाई
आँखाको गहिराइ
ओठको मोटाई
र अरू यस्तै यस्तै ।
बिक्रेताहरू छन्
विवशता
बेरोजगारी
गरिबी
परित्यक्ता
बेखर्ची
महँगी
बेथिति
आदि र इत्यादि !
ग्राहकहरू छन्
फरक स्वादका पारखीहरू
चरम विकारका शिकारीहरू
असङ्ख्य असफल प्रेमीहरू
बिरक्तिएका मनहरू
फास्टफुडमा रमाउनेहरू
बजारिया फ्लेभर रुचाउनेहरू ।
हरेक साँझको सघन घुर्मैलोसङ्गै
सुरु हुने यो मण्डीमा
बार्गेनिङ हुन्छ
मासुको मुल्यको
मासुको रङको
मासुको स्वादको
मासुको क्वालिटीको ।
लिलाम बडाबड हुन्छ
क्रेताको क्रय शक्तिको
बिक्रेताको कामशक्तिको
रुप र सौन्दर्यको
उमेर र वयको
खर्चिने समयको ।
सिद्धान्त लागू हुन्छ
माग र आपूर्तिको
गुणस्तर र मूल्यको
अवमुल्यन हुन्छ
प्रेमकोर कसमको
सिन्दुरको र संस्कारको
धर्मको र कर्मको ।
राष्ट्रबाट बर्जित तर चर्चित बजार
सरकारलाई कर छली गर्ने कालोबजार
धर्मले निषेध गरेको नियोजित बजार
जति मास्न खोज्यो झन फस्टाउँदो बजार
खै कस्तो बजार ? साह्रै सस्तो बजार
एउटा मान्छेले अर्को मान्छेलाई
सबैभन्दा सस्तो मूल्यमा
सजिलैसँग किन्न पाइने
मान्छेको मासुको हाटबजार ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।