पिएस्पी चाम्लिङ राईका २ कविता

१. रहर
मेरो मृत्युत्सवमा
मलामीहरुले
कमसेकम
मात्र एकपटक भएपनि
मलाई सम्झिउँन् ।

२. एक लट रोईदिम, हाँस्दिम
युग बितेछ
मैले मलाई नसम्झेको
आज सम्झिएँ
एक लट रोइदिएँ अनि
एक लट हाँसिदिएँ
आफूले आफूलाई सम्झिनु पनि
एक प्रकारले ज्यूँदो हुनु रहेछ
हजुरलाई त थाहा नै छ
नरुने आँखाहरुले के के देख्छन्
नमुस्कुराउने ओठहरुले के के बोल्छन्
थाहा छ
कहिल्यै नरुनेहरुको आँखामा
कलेटी परेका हुन्छन बारुद
कहिल्यै नमुस्कुराउनेहरुको ओठमा
हाँसिरहेको हुन्छ बारुद
बारुद
बारुद विध्वंशक र विस्ष्फोटक हुन्छ
हजुरलाई थाहा नै छ बारुदमा जीवन हुन्न
खैर बहुत बरालिएछु म
बारुद आँखा र ओठमा
भन्नुस त
कसम खाएर भन्नुस
आफैलाई बेस्मारी सम्झिएर
आज कतै निस्वार्थ एक लट हाँस्नुभो
र
एकलट
खुद आफ्नै लागि रुनुभो ?