सागर काफ्ले

साहस अनि हिम्मत मेरो बढाउनु पर्ने छ
यस्तो लाग्छ त्यसपछि त तारा नि झर्ने छ
साथ खोज्दै भट्कि हिँडे खै कोही भेटिएन
पराई सँग मन खोल्दा व्याकुलता मेटिएन
आफ्नो भन्ने आफैं छैन अरुलाई के भन्नु
झिँगाहरु जम्मा भए कुन यन्त्रले गन्नु
गन्नु पर्ने आफ्ना कुरा हिसाबकिताब छैन
यस्तो लाग्यो बेहिसाबी जिन्दगी नै छैन
जिन्दगीको के भर भो र दुई चार दिन त होला
सकिएसी के नै छ र जल्ने खोलै खोला
जलिसक्यो इत्ति बच्ला टुक्रा टुक्रा पारे
चारै कुना टुक्रा फाली बैकुण्ठ नै तारे
तर्नु अघि मर्नु अघि केही त गर्नु छ
दुइचार सपना पुरा गरि मन मेरो भर्नु छ
मन भर्न खुसी हुन साथ सबैको चाहिने
साथ पाउन हिम्मत गरी बात निकाल्नु पर्ने
घुमाई फिराई कुरा आउँछ त्यही हिम्मत साहसको
मनमा डर कति छ र लोकको अट्टहासको
फलानाले के पो भन्ला साथीले के सोच्लान्
मनमा विचार आउने हजार विचारैले घोच्लान्
भालाको नि के डर छ र डर छ लोकलाजको
लोकले पनि आफ्नो छाडि नियाल्छ पराई काजको
कहिलेसम्म चल्ने होला मनभित्रको यो द्वन्द
द्वन्द खत्तम नहुँदैमा हुने हो कि आफ्नो अन्त

गुल्मी