कन्चन बस्नेत

आज पनि म तिम्रो बोझिला स्मृति
च्यापेर फर्की रहेको छु
मेरा गह्रौं पाइला घिसार्दै यी सुनसान् सडकमा

म मेरो अँध्यारो गुफा आइपुग्छु
यो सघन अन्धकार भित्र
कुनै सुक्ष्म बिन्दुमा तिमी पिलपिल बलिरहेको देख्छु
अनि मलाई परेला उठाएर हेर्छौ
अनि स्निग्ध ओठ चलाएर थोरै मुस्कुराउँछु
दिउँसो भरि एकलाप गर्दा गर्दा
पुरिएका घाउका खटाहरु सहस्रा चिरिएर आउँछन्

तिमी यहाँबाट गई हाल
तिमी मेरो ओभानो आँखा किन देख्न सक्दैनौ
बिसेक हुँदै गएका मेरा घाउहरू किन देखिसहन्नौ
म मेरै दुनियाँमा मदहोस भई रहेको बेला
तिमी किन मायावी हाँसो हाँस्दै आउँछौ
सियो जस्तै बिझाइरहने यादका कोसेली
बोकेर किन आउँछौ तिमी
तिमी तुरुन्त जाऊ त

ऊ बिरालोको झैं शान्त चालमा जान्छे
अनि मेरो मुटुभित्र हल्ला गर्न थाल्छे
मेरो गुफाको चारैतिर
उसको सुगन्ध पोतेर गएकी छे
शायद उसको उपस्थितिको चिनो छाडेर

कति बेर टाँसी रहन सकेको उसको सुगन्ध
मेरा नासिकाका पर्दाहरुमा
रङ्ग उडीसकेको अनुहार
हातमा बोकेर बेला बेला नियाल्दै
म भौतारी रहेको छु
गल्ली चोक मन्दिर चर्च मस्जिद सबै तीर
म मेरो अनुहारको अस्तु सेलाएर घाटबाट फर्कन्छु
रित्तो मन बोकेर खुसी हुँदै सिरेटोहरुलाई चुम्बन गर्दै
तर मेरा पाइलाहरु भन्दा छिटो छिटो हिँडिरहेका सडकहरु
म माथि अट्टहास गरेर हाँस्दैछन्
रै पनि म बेफिक्री हिँडिरहेको छु

अँ अहिले म मेरो अन्धकार गुफामा आइपुगेँ
सोचिरहेको छु मेरो शिथिल शरीर
मेरो शैय्याको बलिष्ठ अंगालोमा बाधिएर
अर्कै अन्तरिक्षमा पुग्ने छ
तर म देखिरहेको छु कि
ऊ फेरि मेरो दिवङ्गत चेहेराको खरानी बोकेर
मेरो गुफाभित्र बसिरहेकी छे
ऊ आफ्नो फँणा उठाएर बसेकी छे
मलाई डस्न डसिरहन ।

ठेगाना: फाकफोकथुम – ५ , इलाम
शैक्षिक तह : स्नातक ( अध्यनरत)