भुर्र उडेर गए
एक हूल मालचरी
सूर्यको अर्को उज्यालो फन्कोसँगै
आशाको डिलैडिल
जसलाई क्यै गरी
बन्द गर्नु छ बचेराको चिँ चिँ
नदेखिने बनाउनु छ गुँडभित्र सूर्यको डिस्को लाइट
नलाग्ने बनाउनु छ बर्षाको धारे हात
सजाउनु छ भित्ताहरू रङ्गिन छेस्काहरूले
बच्नुछ शिकारीको निशानाबाट
फुत्किनु छ सर्पको आहार हुनुबाट
जोगिनु छ ठक्कर दिने सपनाभन्दा अग्ला
महत्वकांक्षाको पहाडबाट
सामना गर्नु छ चीलबाजहरूसँग
चुँडाउनु छ खुट्टामा बाँधिएको धागो
हुनु छ निको अलौकिक घाउबाट
नपर्नु छ पासोको डोकोमा
ठुङ्नु छ जाल थाप्न खोज्ने जालधारीको कानमा
मिसिनु छ आफूजस्तै उड्ने अर्को जातसङ्ग
उडाउनु छ बोकेर कहिले, उडिनु छ बोकिएर कहिले
लुक्नु छ कहिले रुखका हाँगाहरूमा
देखिनु छ कहिले खुल्ला आसमानमा
हल्लाउनु छ पखेटा नपुगुन्जेल उचाइको आकाश
भर्नु छ सानो र ठूलो आन्द्राको लहर
हेर्नु छ हिमाल मुन्तिरको सुन्दर दृश्य
देख्नु छ उ पारीको चरीको अर्को बस्ती
सुन्नु छ आफ्नै नाम खुल्ला आकाशभरी
र राख्नुछ नयाँ किर्तिमान
तर
बत्ती ननिभ्दै फर्कनु छ आफ्नै स्थल
बन्द हुनु छ आँखा खोल्ने ढोका सधैँभरिलाई
दिनु छ पालो अर्को मालचरीलाई
एउटा अर्को नयाँ कथाको लागि ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

