भगवती बस्नेत

दुलही भएर
आँखाभरि अनगिन्ति
सपनाका फूल फुलाएर
तिम्रो सहर भित्रिदा
तिमी निस्पट्ट अन्धकारमा
निदाइसकेको थियौ
कति बेला बिहानी होला
र तिमीलाई आखाँभरि हेरेर
आफ्नो कौतुहता मेटौला
तिमीसँग निर्धक्क बात मारुँला
भन्ने सोचेथेँ
भालेको डाकसँग बिउझिने मेरा आँखा
घडीको सुईसँग बिउझिए
तिम्रो मुहार हेर्न लालायित
मेरा नयनहरुले बिहानीको
लाली किरणसँगै
मन्द मन्द बताससँगै
आल्हादित मन
चारैतिर हिमालले घेरिएको
खाल्टोभित्र तिमीलाई पाएँ
तराईको त्यो समथर फाँटमा
हुर्किएकी म
तिमीलाई भेट्न आउँदा
हिँडेको नागबेली बाटाहरु
अग्ला र होचा पहाडहरु
हिमालका चुचुराहरु
अनेक मठमन्दिर
धरहरा घण्टाघर रानी पोखरी
तिमीलाई घेरेर बसेका थिए

कुनै दिन नेपाल भनेर चिनिने तिमी
अहिले काठमाण्डौ भएछौ
तिमीलाई भेटेर
तिम्रो आलिङ्गनमा बेरिदा
क्षणिक खुसी नभएको होइन
तर अहिले तिम्रो कुरुपता देखि
म अवाक भएकी छु

तिमीसॅंगै मिलन गराउन
हजार सपना ल्याएको थिएँ
तिमीलाई मनदेखि माया गरेँ
तनमन सुम्पिएँ
तिम्रो विश्वासमा
जिम्मा लगाएँ आफैलाई
तर तिमीले धोका दियौ
प्यारोमाण्डु
तिमीले गरेको घृणा तिरस्कारले
मैले जीवन बूझ्न पाएँ
ओ धोकेमाण्डु
आज तिमीसँग भेट भाको दिन
एउटा बाचा गर्छु
म अब उप्रान्त
कुनै गुनासो गर्ने छैन
कुनै उजुर गर्ने छैन
कुनै आशा गर्नेछैन
किनकी
तिमीले मलाई
म बन्न सिकायौ
गन्तव्यविहीन सपनालाई
नयाँ क्षितिज निहारी
नयाँ सम्भावना खोज्न सक्षम तुल्यायौ
रातकी रानी पारिजातझैं
सुगन्ध लिएर सुनौलो बिहानीमा
नयाँ सपना मुस्कुराउान सिकायौ ।