शिव पौडेल

ए नेपाली
तिमीले कहिले पत्यायौ
गधालाई नुहाइदिए गाई हुन्छ

तिमी अनिष्टकारीलाई
नुहाँउदै हिंडेका छौ रे
गधा त गधै हो उसको कोष कोषमा
गधापन छ भारी बोक्ने डिएनए कर्म छ

कर्म नै उसको त्यस्तै
भारी विना बस्नै सक्दैन

तिमीले जति नै प्रजातन्त्रको
दूध खुवाऊ समाजवादको दही खुवाऊ
स्वतन्त्रताको नौनी नै खुवाऊ
गधा गधै हो उसलाई भारी नै चाहिन्छ
भारी हालिदिने मानिसै चाहिन्छ

ए नेपाली
गधालाई नुहाउन छाडिदेऊ
यी गधाले तिम्रो अभावको
भारी बोक्दैनन्
तिम्रो पीडाको भारी बोक्दैनन्

तिमीले उसको बन्दुक थाम्यौ
उसको गोलाबारी थाम्यो
उसको झुटबारी थाम्यो
आफ्ना पुत्र चढायौ पुत्री चढायौ
समय चढायौं पुस्ता चढायौं
गधा गधै हो
ऊ कृतज्ञ हुँदैन
उसले बाटोमा छेर्न छोड्दैन
आफूलाई सर्वश्रेष्ठ र सुन्दर
भन्न छाड्दैन ।