साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः किसान

बिष्णु भण्डारी

आफैं निभेर जमिनमा ज्वोती छर्दै
वादल नियाल्दै घाम नियाल्दै
वर्षातमा झरीझैँ रुझेर रोपेका सपना
हिउँदको हुरीसँगै उड्दा पनि
माटो बाटै मोती निकाल्ने संकल्पमा
जीवनको तुषारोले गलेका
मलिन अनुहारमा आशाका रेसा कोर्दै
पोखिएका सपनाको बिस्कुन सम्हाल्दै
आँसु लुकाएर कोही हाँसी रहन्छ भने
त्यो पक्कै किसान हुनु पर्छ
एउटा सवाल कृपया
हजुरलाई किसान मन पर्छ र

भोक सँग जुधेर भोका पेटहरु भर्दै
मृत सहरहरूमा प्राण पठाउँदै
बहिष्कृत हेपिएको देउता बनेर
वर्गविहीन उपेक्षित मानव बनेर
जीवनको निरपेक्ष मंजिल
चिसो भुइँ र एक थान खास्टोमा
झलमल्ल जून ताराको दिव्य श्रृङ्गारले
सुशोभित सिलिङ्ग नियाल्दै
कोही निदाउन सक्छ भने
त्यो पक्कै किसान हुनु पर्छ
एउटा सवाल कृपया
हजुरलाई किसान मन पर्छ र

bahulako diary small and inside post

आउनुहोस्
जीवन यहीँ भेटिन्छ
अस्तित्व यहीँ भेटिन्छ
किसानको हत्केलामा भेटिन्छ
मस्तिष्क रसाएर बग्ने पसिनामा भेटिन्छ
नाम्लोले थिचिएको तालुमा भेटिन्छ
रगत र पसिनाले मुछिएको माटोमा भेटिन्छ
उ मात्र दिन जान्दछ प्राण दिन
एउटा सवाल कृपया
हजुरलाई किसान मन पर्छ र

आउनुहोस एउटा गीत गाउँ आफ्नै लागि
किसान छ र त जीवन छ प्राणको लागि
ईश्वरले पनि सोच्दै गर्नु भोगको लागि
फूल पाती अक्षेता र प्रसादको लागि
र सरकार
भावी चुनाव र करको लागि
सबैको भरोशा किसान
किसानको भरोसा र
आउनुहोस् एउटा गीत गाउँ आफ्नै लागि
किसान छ र त जीवन छ प्राणको लागि
किसानको लागि
अन्तत
एउटा सवाल कृपया
हजुरलाई किसान मन पर्छ र

गुल्मी

प्रतिक्रिया
Loading...