सूर्यदीप रेग्मी

आजकाल सम्बन्धहरु सम्बन्धजस्ता छैनन्
आजकाल आफन्तहरु आफन्त जस्ता छैनन्
सम्बन्धहरु भरोसा योग्य नभएपछि
तिम्रो छाया बनेर हिँडेको छु
किनकी आफ्नै विश्वासहरु भरोसायोग्य छैनन्

तिमीलाई गुमाउनु पर्ला कि भनेर डर छैन
तिमीसँग कल झगडा गर्न अब कर छैन
धोका र विश्वासघातको डरमा बाँच्नुभन्दा
तिम्रो छाया बनेर हिँडेको छु
किनकी आफ्नै मनको स्वार्थको भर छैन

तिमी सँगसँगै पुरै जिन्दगी बाँच्नु छ मलाई
तिम्रो हरयात्राको सारथी बन्नु छ मलाई
तिमीसँग कहिल्यै छुट्टिन नपर्ने
तिम्रो छाया बनेर हिँडेको छु
किनकी हरपल तिमीसँगै हुनु छ मलाई

यो भिडमा तिमी एक्लै भयौ भने पनि
अनकन्टार यात्रामा एक्लै गयौ भने पनि
कहिल्यै कमजोर नबन्नु तिमी
म तिम्रो छायाँ बनेर हिँडेको छु
छाया तिम्रै हुन्छ सँधै माया बिर्सियौ भने पनि।

सुर्खेत