बिमला रोक्का

सेता पानाको काला लाइनमा
हुन सक्छन्
बा का अनगिन्ती साहसहरु
वा छरिन सक्छन्
आमाका ममताहरु
र हुनसक्छन्
मेरा सपनाका अंशहरु

तिम्रो जिद्दिमा
नपल्टिएको डायरीमा
हुन सक्छ बेचिएकी फुलमायाको कथा
वा बलात्कृत नारीको पीडा
र इतिहासका उत्खनन बिहिन सत्यहरु

हाँस्न नसक्ने आँखा
र रुन नसक्ने मनको
समिश्रणमा डुबिरहेको ती पानाहरुमा
मेरा जिद्दि सपनाका अवशेष हुन सक्छन्
र हुन सक्छन् कुनै आत्माहत्याको कहाँनी

अन्तत
तिमी डायरीलाई जिन्दगी नसम्झ
र पल्टाउन नखोज पहाड जस्तै पानाहरु
कस्लाई थाहा
यसमा तिम्लाई पुर्न सक्ने
भिषण पहिरो पनि हुन सक्छ ।

गोरखा भिमसेन गाउपालिका  ३