अक्सर अँध्यारोमा
तारा हेरेर टोलाउथेँ
र सोध्थे आकाशसँग
अनेक प्रश्नहरू
अनुत्तरित हुन्थेँ र खेल्थेँ
आफ्नै मनसँग एउटा जिज्ञासु खेल

अँ साँच्चै
कहाँबाट टिपेर ल्यायो होला आकाशले
त्यो सेतो चम्किलो फूल

भावुक हुँदै हेरिरहन्थेँ नदी
प्रवाह हुन्थ्यो हृदयभरि संवेदनाको तरङ्ग
निर्माण गर्थेँ मस्तिष्कभरि
बगर र किनाराको
फगत वियोगान्त कथाको पाण्डुलिपि
निकैबेर सोचमग्न हुन्थेँ
आकाशबाट पानी वर्षिनुको विस्मयतामा

सुमिना के.सी.

बिस्तारै म एकाकार भएँ
समयको अविरलतासँगै
पौडिन थालेँ ज्ञानका छालहरूमा
हराउन थालेँ मस्तिष्क मन्थनमा

बिस्तारै आश्चर्यचकित हुन छोडेँ

हावाका वेगहरूमा
मौसममा बदलावहरूमा
दिन र रातका गोलचक्करहरूमा
सत्यको अन्वेषणले
हरेक आश्चर्यबोधलाई मबाट टाढा धकेल्यो

अलौकिक लागेन
चुम्बक र फलामको आकर्षण
धरती र आकाशको सम्बन्ध
जीवन र मृत्युको रहस्य
महिना वर्ष र शताब्दीको अङ्क गणित

म त्यही बाटो आएँ
तरेर चेतनाका भयानक नदीहरू
भत्काएर चिन्तनका हिमतालहरू
जहाँ मस्तिष्कको फेदीबाट सरसराउँछ बतास
जहाँ पल्टिन्छन् थानका थान पुस्तकका पाना
जहाँ मडारिन्छन् सशक्त विचारका हजारौं भूमरी
जहाँ मस्तिष्क गर्दैन बताससँग
पहिलेजस्तो बकवास् सवाल
बरु यात्रामै जन्माउँछ जीवनशील सृजनाहरू

थानका थान ज्ञानका स्रोत बोकेर
त्यहीँ जन्मिन्छन् अनेक विचारहरू
दार्शनिक चेतसहित बाटोमै भेटिन्छन् सुकरात
जीवन दर्शन लिएर मभित्र खुब चिच्याउँछन्
प्लेटो ताओ कपिलमुनि र बुद्ध

अब देखिँदैनन् ती भुवादार स्वप्नहरू
जहाँ
फूलैफूलको बागमा मस्त झुम्थें म कुनै स्वप्नपरीझैं
र हाँस्दै हाँस्दै जान्थेँ सुनैसुनको महलमा

अचेल त स्वप्नहरू मलाई
डोर्‍याउँदै डोर्‍याउँदै पुर्‍याउँछन्
शोषित दमित समाजतिर
पीडाग्रस्त उत्पीडित बस्तीहरूतिर
कहिलेकाहीँ मेरो सपनामा
खुब मुस्कुराउँदै आउँछन्
घना दारी र वृद्ध अनुहार भएका दार्शनिकहरू
अनि, मन्दमन्द मुस्कुराउँदै पढाउँछन्
शोषण र दमनका कथाहरू
उत्पीडित र पद्दलित हुनुका कारणहरू

सँगसँगै
प्रश्न गर्न लगाउँछन्
किन जीवनभर हाड घोटेर पनि पेटभरि खान पाउँदैनन् श्रमिकहरू
किन थुप्रिन्छ धन सधैँ मालिकहरूको भण्डारमा
कसरी रातारात धनपति बन्छ मजदुर हितको वकालत गर्ने अगुवा
कसरी न्यायका हत्याराहरूको समूहमा सामेल हुन पुग्छ शोषितहरूको नेता

आजकाल यो आकाश
यो धरती
यो सिंगो प्रकृति
सबै उन्मुक्त छन् मेरा सवालहरूबाट
किनकी
म संवाद गर्छु युगीन प्रश्नहरूसित

उस्तै छु म
उस्तै छ मेरो स्वभाव
मात्र फेरिएका छन्
प्रश्नका प्रकारहरू
प्रश्न गर्ने माध्यमहरू
सपनाका रुपहरू
जिन्दगी बाँच्ने तरिकाहरू
संसार बुझ्ने र बदल्ने दृष्टिकोणहरू

कहिलेकाही एकान्तमा
आफ्नै सोचका मतभिन्नताको सिमानामा
उभिएर
म आफैंसँग संवाद गर्छु
त्यो एक समय थियो
यो एक समय छ !