विचारमा कसैले रङ्ग घोलेपछि नै हो जीवनमा विष फैलिएको

एउटा सपना देख्नु जस्तो सुन्दर के होला अर्थोक संसारमा
जुन दिन जीवनले देखेको हुन्छ
नयाँ घर
नयाँ देश
नयाँ पृथ्वी
सत्ते त्यस्बेला जीवन जस्तो सार्थक अर्थोक लाग्दैन संसारमा

निर्मल आग्रह

जब आकाशको हल्ला तुरिन्छ
सहरको आर्तनाद चुपचाप सुत्छ
र सपनामा ओइरिन्छ लासै लासहरूको नक्शा
जस्को प्रतित्तोरमा विपनाले आगो ओकल्छ

त्यस्बेला लाग्छ जीवन वरदान हो कि अभिशाप !

जतिबेला केही भनिरहेको जस्तो लाग्ने यो हवाले पनि पछाडिबाट
नाक थुनेर सास थूत्न खोजे जस्तो गर्छ
जति बेला कुनै शोकगीत गाइरहेको जस्तो लाग्ने यो झरिले पनि निलिदिउँ कि जस्तो गरेर आँखा फुकालेर हेर्छ

एक्छिन त लाग्छ यो घाम निस्सासिरहेछ
र धरती भित्रभित्रै भाँस्सीरहेछ

त्यस्बेला फेरि एकचोटि लाग्छ जीवनभन्दा त जटिल अरु केही छैन संसारमा

एउटा सपना देख्नु पनि कति खतरनाक हुन सक्छ संसारमा
जब जीवनले देख्छ
भताङ्ग भुतुङ्ग परेको घर
धुज्जैधुज्जा परेको देश
र हतास पृथ्वी

खोज्नुछ संसारको मानचित्रभित्र त्यो एउटा कुना देश
जस्ले आफ्नो नामको गणना पर्खिरहेछ
जस्का गल्लीगल्ली कुनाकाप्चाहरुमा विपना घायल
र एउटा नयाँ सपनाले आँखा खोल्नु बाँकी छ
खोज्नुछ संसारको मानचित्रभित्र त्यो एक कुना आदिम गाउँ
जस्ले आफ्नो नामको घोषणा पर्खेरहेछ
जस्का कुनाकुना सर्वत्र विपना भयावह छ
र एउटा नवजात सपनाले पहिलो गीत गाउनु बाँकी छ

किनभने
हरेक विपनाका नयाँ संस्करणहरु नै सपना हुन्
र सपनाका हरेक पुराना संस्करणहरु नै विपना हुन्

अहिले सपनालाई न मर्नु न बाँच्नु छ विपना खितिति हाँस्दैछ
भोलि विपनालाई न मर्नु न बाँच्नु हुनेछ सपना रमाउनेछ ।