धड्कन शर्मा

कुनै कतै बिरुवा रोप्नु अघि
अनि फूल फुल्नु अगाडि
माटो उजाड देखिन्छ
पानी बग्न छोडेपछि खोला
सुक्खा बगर बनेको हुन्छ

हरियाली रोप्न
आफ्नो जिन्दगीको माटोमा
म मेहेनतको संगतमा आएँ
सुखको धार पाउन
संघर्षको महासागर तर्दै
यो मरुभूमिमा सपना बुन्न आएँ
यहाँ मैले
घाम केलाएँ पसिना बगाएँ
दिनरात नभनी हातगोडा बजाएँ

मलाई लाग्छ
मैले बालुवाको कणकणमा झारेको
आँखाको पसिनाले
मेरो आफ्नो घरमा
सुखका चामल पाकेको छ
शिक्षाको उज्यालो हाँसेको छ
रहरहरु संतुष्ट बनेका छन्
चाहानाको शिखर उक्लेको छ

मैले गोडमेल गरेको सपना
र मेहेनतका धपेडीले
मेरो घरको भित्ता
बलियो भएको छ
इन्द्रेणी जतिकै सुन्दर बनेको छ
अनि आफ्नै मनमा पनि
आनन्द र चैनका फूलहरु
ढकमक फुलेका छन्

समयान्तरमा
म आफ्नै परिवेशमा
अनुपयोगी सम्झिन थालेको छु
सुक्दै गएको ज्यान
निस्तेज हुँदै गएका दृष्टि
काँप्न थालेको पाइलाले सायद
मलाई मेरो माटो सम्म फेरि पुर्याउला ?

अचेल यो संशयले जरा गाडिरहन्छ
अदृश्य काँडाले घोचिरहन्छ
सिरानीसँगै यो मन भिजिरहन्छ
म एउटा मिति नाघ्न लागेको
एउटा नोट छाप्ने मेसिन
कुन दिन फालिईन्छ होला
जुन दिनदेखि म
नोट छाप्न असमर्थ हुनेछु

त्यसबेला मेरो शिरमा
आशिर्वादको हात लाग्छ लाग्दैन
ममताको काख सिरानी बन्छ बन्दैन
जीवनको यो ओराली झर्न
लौरोको सहारा मिल्छ मिल्दैन
थाहा छैन थाहा पाउन चाहँदिन पनि
किनभने
काम नलाग्ने मेसिन सायद
कसैले घरमा सजाएर नराख्न सक्छ
कतै लगेर फाल्दिन सक्छ

त्यसैले होला अचेल
एउटै सपना देख्छु देखिरहन्छु
म उडिरहेको हुन्छु कता कता
रातो बाकसभित्र मस्त सुतेर ।

मैतिदेबी-काठमाडौं
हाल-ईजरायल