इतिहासको कालो रातभित्र
निस्सासिरहेछ वर्तमान समय
तर हामीलाई गर्व छ हाम्रो इतिहासमा
हामीले इतिहासमा नहारेको त कहाँ हो र ?
तर कहाँ बुझाइयो र मौलिक इतिहास ?
यथार्थलाई भत्काइयो
तथ्यहरु बङ्गाइयो
र तयार गरियो एउटा ठेली
सबैलाई घोकाइयो हामी वीर गोर्खाको सन्तान
इतिहासमा हार्नु परेन
र त हाम्रो अहंकारको पहाड
चुलिएर सगरमाथा भन्दा उच्च भयो
छेकिदियो गतिशील पाइलाहरू
अनि कसरी चुम्न सकिन्थ्यो र ?
प्रगतिको नयाँ आयामहरू ।

इतिहासले हामीलाई दास नबनाएको कहाँ हो र ?
तर पनि भनियो हामीले कसैको गुलाम बन्नु परेन !
अभिभावकहरू अरूको गुलाम बनेकाले
सन्तानको भविष्य कोर्न बिर्सिए
वर्तमानमा रमाउन आदत भएकाले
आउने दिनको सुन्दर रुपरेखा तयार गर्ने
योजना नै आएन
’एउटा पुष जाँदैमा जिन्दगीको जाडो सकिदैन’
यो कुरा बुझेको भए
अहिले किन हुन्थ्यो र, हाम्रो यो दुर्गति ?

के इतिहास एउटा गर्व मात्र थियो, शिक्षा थिएन ?
के हामीले लेख्नु पर्दैन र नयाँ इतिहास ?
वर्तमान युग प्रति हाम्रो कुनै उत्तर दायित्व छैन ?
यस्ता धेरै विषयहरू
अन्नुत्तरित सवाल बनेर सैलुङ्ग पहाडझैँ
उभिएको छ हाम्रो सामु
तर हामी
समयले दिएको अभिभारा बिर्सिएर
पुर्खाहरूको विरासतको सिरानी हालेर
निदाइरहेको छौँ चीर निन्द्रामा
र निदाइरहेछ हामीसँगै यो युग !