जीविका अश्रु (गान्तोक, सिक्किम)

पहिलो चित्कारको पाठशाला
आरोग्यताको मन्दिर
हजारौं वसन्तहरुले एउटै घाम
यही सुगन्धको छेउमा
म अनि मेरो देश

जलनहरुको मलम सँग
जीवनको शुरुआत
हावाको पहिलो झोक्का
स्वतन्त्रताको बाँसुरीमा
जीवनको संगीत
म मेरो देश मेरो माटो

अचम्मको स्वादमा घामको झुल्को
मेरो शिरमा ठोकिन्छ
अनौठो संगीतका झरनाहरु
सुनगाभाको प्रतिमा बनेर
उभिएको राष्ट्रियता
रहरहरु बाँचिरहन्छन्
आँसुहरुलाई मुस्कानमा बदलेर
एउटा देश लेख्न मन लागे
यहाँ मेरो देश छ

संगीतलाई स्वादमा बदलेर
चेतनालाई बिचार दिएर
तपाईलाई जीवन लेख्न मन लागे
यहाँ मेरो देश छ
मेरो पहिचान छ
भिन्नतामा एकताको झल्को
मेरो स्वाभिमान छ
सरलताको शान्त तलाउ झैं
कमलको एक झल्कोसँग
एकैपटकमा फेरि
सुन्न मन लागे
मेरो देशको कथा छ

तपाईलाई मेरो देश जस्तै
म चाहिन्छ भने
म जस्तै देश खोज्नुभयो भने
हे सज्जन !
एकपटक
मेरो देशको सुगन्धमा निदाउनुस्
ब्यूझनुस्
हो
म अनि मेरो देश।

 सिक्किम, भारत