साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः मृत्यु

निमा निष्कर्ष

म जीवन मरिसकेर
फेरि एकपल्ट जन्मेको
जीवन्त नाम हुँ
मृत्यु

जन्मँदै लिएर आएको तितो सत्य हुँ म
मलाई महसुस गर
म तिमी भित्र हरपल जीवित छु
म तिमीले हिड्ने अन्तिम पाइलामा छु
म तिमीले फेर्ने स्वासको
अन्तिम लस्करमा उभेको छु
म तिमीले हेर्ने अन्तिम दृष्टिमा छु
म तिमीले बोल्ने अन्तिम शब्दमा छु

bahulako diary small and inside post

म मृत्यु
हरदम तिमीसितै छु

घात प्रतिघातको कालो बादल हुँ म
माया प्रेमले छेक्न नसक्ने बौलाह हावा हुँ म
तिमीले पाउने अन्तिम माया हुँ म
यो जगतले दिने
तिम्रो नामको
अन्तिम श्रद्धाञ्जली हुँ म
तिम्रो आँखाबाट खस्ने आँसुका
अन्तिम थोपा हुँ म
तिम्रो ओठको अन्तिम मुस्कान हुँ म

म मृत्यु
हरदम तिमीसितै छु

अँध्यारोबाट जन्मिएको उज्यालो होइन
उज्यालोबाट जन्मिएको एउटा छायाको पनि छाया हुँ म
तिम्रो लापरबाही यात्राको साथी हुँ म
जब तिमी
रित्तो
रित्तो
रित्तो
भएर कहीँ जाने तर्खरमा हुन्छौ
तिमीले थाहै नपाई
तिमीलाई लिन आउने
ईश्वर स्वयमले गरेको
कठोर बन्दोबस्त हुँ म

म मृत्यु
हरदम हरदम तिमीसितै छु।

कलकत्ता

प्रतिक्रिया
Loading...