साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

साधारण पिताश्रीको असाधारण जीवन कथा

विनोद ओली

 

विनोद ओली
bahulako diary small and inside post

केवल बाँच्नु मात्र सार्थक हुन्छ र, दुर्लभ यो हो चोला।
गर्छ मानव कर्म सत्मार्ग टेकी, अजर त्यही होला।।
मेरा श्रद्धेय दिवंगत पिताश्री, सात दशक् बाँचेर।
सार्थक जीवन व्यतित गर्नु भो, तृप्तिपूर्ण हाँसेर।।

आदर्श सन्तानहरूको दृष्टिमा, पिता हुने नायक।
मेरा पिताश्री गंगाप्रसाद ओली, समाजका नायक।।
जति जिउनुभयो धरा धाममा, नयनमा रमाई।
समाजमा अब्बल सामाजिक गुणले, शतपथ समाई ।।

हृदयनन्द हजुर बाबा हुन्, महिमा थ्यो अपार।
शैशवकालमै सिक्किम प्रवेश, आर्जनश्री गरेर।।
सिक्कम नरेश प्रफुल्लित भई, पूर्ण ऐश्वर्य दिए।
उनै हजुरबाका सातौँ सन्तान्, पिताश्री भै दिए।।

डिट्ठाको उपाधि भूषित ती बुबा, नरप्रसाद ओली।
अभिमान उनमा रत्ति थिएन, मृदु सुशील बोली।।
उनै पिताश्रीका सुपुत्र बनेर, जन्म भो आठ सालमा।
फाल्गुण चौध धरा अवतरण, गर्नुभयो थलमा।।

बाल्यकालमा अति लाड स्नेह, डिठ्ठाका ती सन्तान।
मातापिताको स्नेहपूर्ण आँचल, उच्चै थियो खान्दान।।
बिते जीवनका स्वर्णिम युवावस्था, मृदु सौम्य बनेर।
समकालीनकका ती मित्र हितैषी, प्रियपात्र भनेर।।

प्रारम्भिक शिक्षा होडामा नै लिई, त्यसपछि पोखरी।
कक्षा दससम्म अध्ययन गर्नु भो, ज्ञानरुपी भकारी।।
होडाबाट बुबा अठ्ठाईस् सालमा, झापा भयो बसाइ।
छरछिमेकमा रानो बन्नु भयो, गुणैगुण रसाई।।

झापाको सुरुङ्गा दुर्गापुर भूमि, बित्दै उर्वर दिन ।
दत्तचित्त मन लगाई कृषिमा, हुनुभयो तल्लिन ।।
स्वर्गीय विष्णुप्रसाद विमलीकी, माइली छोरीसँग।
दाम्पत्य जीवन सुरुवात भयो, जुराएर लगन ।।

बुबा-आमाको कोखबाट हामी, जन्म तीन सन्तान।
दुई सुपुत्र हौँ एउटी सुपुत्री, रक्षा गर्ने खान्दान।।
बुबाको त असीम स्नेह आमाको, ममताको आँचल।
हुर्कियौँ हामी समयको गतिमा, प्रगाढ स्नेह निश्चल।।

जेष्ठ सुपुत्र गणेश, म विनोद, छोरी अनिता हुन ।
बुबाआमाका नयनमा बसेका, हामी हौँ तारा जून।।
जन्मदाताको अगाध त्यो ममता, ढल्दै गए ती दिन।
गर्थ्यौं विनय उनै ईशसँग, नटुटोस् एक् छिन।।

बित्दै गए दिन खुशीको भेलमा, पीडा थियो अन्जान ।
पाषण रुप लिई समय आउँदा, बन्नु पर्ने नादान।।
बाबा छोरा होइन मित्र समान, भन्थे सारा स्वजन।
त्यस्तो अमूर्त सामीप्य तन मन, दुर्लभ थियो खोजन ।।

बाबा-आमाको ममता रहुन्जेल, हुने दिन रङ्गीन ।
लुट्छ विधाताले त्यो दिव्य आँचल, बिझ्ने तीखा सङ्गीन।।
अरबौँ नै होस् भौतिक आर्जन, त्यो त फिका बन्दछ।
यादले साह्रै जलाउँछ ह्रदय,आँशु ढिका खस्दछ।।

खेल्दै रम्दै गयौँ हामी तीन सन्तान, चैतन्य शिक्षा पनि।
अविष्मरणीय अप्राप्य ती दिन, पुग्दै सदीक्षा पनि।।
आए गए कति हेमन्त, शिशिर, रङ्गीन शरद पनि।
माता-पिताको आशीष यो शीरमा, साथै वरद पनि।।

आर्तको पीडामा मलम लाउने, करुण थियो मन।
मृदुल मीठो बोली माधुर्य खुल्ने, आकर्षक नै तन।।
शिष्टसँग वचन मुसुक्क हाँस्ने, उदार थ्यो हृदय।
केवल स्मृतिमा सीमित भएर, बस्यो मन्मा अजय।।

आध्यात्मिक बुबा भक्तिभावपूर्ण, ईशको नै चिन्तन।
शिक्षा दिनुहुन्थ्यो सन्तान गरून्, चेतनाले मन्थन।।
शिव मन्दिर एवं दुर्गा माताको, श्रद्धा सधैँ मनले।
गर्नु बिघ्नबाधा हट्छन सहजै, पवित्र त्यो तनले ।।

एवं रीतले झापाको बसाई,अन्ठाउन्न सालमा ।
बिट मार्दै मेरो आग्रह स्वीकारी, आयौँ काठमाडौँमा।।
जीवनका ती दिन रोचक बन्दै, बित्दै गएका थिए।
उतरार्द्धका ती पल प्रतिदिन, अनुकूल भै दिए।।

रिष्टपुष्ट तन सुललित मन, के नै शंका रोगको !
श्याम मेघ शिरमा मडारिइरहेको, संयोग नै योगको।।
घर निर्माणको काम गर्दागर्दै, वान्ता भयो रगत ।
कुनै अनिष्ट या अप्रिय घटना, धसिएझैँ जगत।।

बिर्तामोडका प्रख्यात चिकित्सक्, अस्पताल लगियो ।
परीक्षण सारा प्रविधि प्रयोग, शंका जटिल थियो।।
डाक्टरको उत्तम सुझाव मान्दै, पुग्यौँ हामी भारत।
हे प्रभो विधाता, हे कृष्ण हरि, साह्रै मन आहत ।।

दिल्लीमा पुगेर परीक्षण गर्दा, रोग पुष्टि भो क्यान्सर ।
आशाको दीपक निभेर जान्छ कि, उपाय नै के छ र ?
सम्भावित सबै औषधि गरियो, अन्तिम त्यो चरण।
विज्ञानले केही उपाय देखेन, पर्यौँ हरि शरण।।

अब यहाँ कुनै उपाय हुँदैन, भन्ने कुरा जानेर।
बुबा लिएर आयौं जन्मभूमिमा, सुझाव नै मानेर।।
जननी जन्मभूमि अति प्रिय हुने, आफ्नै प्राण जसरी।
माटोको सुगन्ध जलका पीयूष, वर्णन गर्ने कसरी ?

आत्माविश्वास जागोस् बुबालाई, भन्ने इरादा थियो।
मनमा गुप्त राख्यौँ रहस्य रोग, बलोस् आशाको दियो।।
बुबाका इच्छा अपूर्ण नरहून्, यो मनको कामना।
इच्छा के-के छन् हजुरका बुबा, गर्दछु म सामना।।

दिन प्रतिदिन रोगले गलेर, शिथिल हुनुभयो ।
छोरा अब मेरा जाने दिन आए, करुण रुनुभयो ।।
दिन्थेँ ढाडस बुबा हजुरलाई, केही हुन्न भन्दथेँ।
तथापि त्यो दयनीय अवस्थाले, म निरीह बन्दथेँ।।

हे छोरा तिमीले पूरा गरेका छौ, खुशी छ मेरो मन।
एउटा कुरा भन्छु अन्तिम इच्छा, अन्तिम शब्द सुन।।
मेरो मृत्युपश्चात लाश लिएर, झापामा नै सलामी ।
आर्जन गर्या छु मैले प्रियजन, जाने मर्दा मलामी ।।

यस्ता कुरा सुनेर भावबिह्वल, रोयो मेरो हृदय ।
दैव तेरो लीला बडो विचित्रको, कस्ले पायो विजय ?
सृ्ष्टिको चक्रमा पाहुना बनेर, आयो यस भवमा ।
भौतिक बन्धन तोडेर एक् दिन, धुवाँ उड्छ नभमा।।

आयो नवीन वर्ष पचहत्तर, नव भाव थिएन ।
श्याम मेघ मडारिई जीवनमा, उमङ्ग नै दिएन ।।
निमेषझैँ बिते बाइसौँ ती दिन, तेइसको प्रहर।
प्राण पखेरु चुँड्यो क्रुर दैवले, हृदयमा जहर।।

चिरा परिन् धरा रोकियो पवन्, भीमकाय पहिरो।
क्षतविक्षत् भयो मेरो हृदय, चोट लाग्यो गहिरो ।।
मेरा बुबा भनी चिच्याँए जोडले, होश छैन बैरिन।
अश्रुजलको भेलमा म बगेर, थालेँ आफैँ तैरिन ।।

आएँ मानवरुप धरी धरणीमा, बिपत् त भोग्नु छ।
आउँछन् अनेकौँ कठिन पल, विधानमा ढोग्नु छ।।
यस्तो दिन आयो आज जीवनमा, वियोगको पीडाले।
आफ्नै जीवन ओचित्यहीन भयो, जलेँ स्वयं घृणाले।।

वियोगको पीडा असह्य भएर, दुखेर मेरो मुटु ।
बुबाको छहारी ताप भयो अब, सम्झेर कुटुकुटु।।
गरेँ विलाप पार्थिव शरीरको, छुँदै मैले चरण ।
हे प्रभु मायारुपी यो सृष्टिकर्ता, परेँ तिम्रै शरण।।

छुटी गयो साथ टुटी गयो नाता, के गर्नु र रोएर ?
तीखो घाउ लाग्यो कोमल मनमा, जान्न अब धोएर।।
पार्थिव शरीर झापामा पुर्याई, माता माई किनार।
उर्लियो कयौँ जनसागर त्यहाँ, श्रद्धा गर्ने अपार।।

बुबा जीवन् संग्राममा पराजित, चिता माथि विश्राम ।
श्रद्धासुमनले दिएँ दागबत्ति, गोलोक होस् आश्रम।।
पञ्चतत्त्व द्वारा निर्मित त्यो तन, जली खरानी भयो।
हेर्दाहेर्दै पवनको वेगसँग, धुँवा बनी बिलायो।।

बुबाको पवित्र निःस्वार्थ ममता, याद बनी पोल्दछ।
हराई मन अतितको बागमा, छाती मेरो जल्दछ।।
कसरी वर्णन गरुँ म शब्दमा, शब्द मात्र लेख्दिनँ।
हरपल नयनमा दृष्य तिनै, अन्य केही देख्दिनँ।।

जीवनदाताको स्नेह छुटेपछि, पोल्छ साह्रै विगत।
जीवनका उमङ्ग सँगै जान्छन्, फिक्का लाग्ने जगत।।
लेखेँ अमर वियोगपूर्ण कथा, अतितको दर्पण ।
भक्तिभावले गरेँ हरेक शब्द, पिताजीमा अर्पण।।

प्रतिक्रिया
Loading...