जनता त आगो हो
आगोसँग कहिल्यै नजिस्कनू
र आगोलाई कहिल्यै ख्यालमजाक नगर्नू ।
सम्झ
यसकारण कि–
आगो जो
तिम्रो प्राण रक्षक हो
आगो जो
तिम्रो अध्याँरोको मार्गदर्शक हो
आगो जो
तिम्रो जीवनको अभिन्न अंग हो ।
जनता त आगो हो
आगोसँग कहिल्यै नजिस्कनू
र आगोलाई कहिल्यै ख्यालमजाक नगर्नू ।
सम्झ
यसकारण कि–
आगो सिर्फ आगो हो
आगो आगोबाहेक केही बन्दैन ।
तिमीले सम्झ्यौ होला
आगो खरानी हो
आगो अंगार हो
आगोले अरूलाई मात्र खरानी बनाउँछ
आगोले अरूलाई मात्र अंगार बनाउँछ ।
जनता त आगो हो
आगोसँग कहिल्यै नजिस्किनु
र आगोलाई कहिल्यै ख्यालमजाक नगर्नू ।
सम्झ
यसकारण कि–
आगो
जसको समुन्द्रको जस्तो न क्षेत्र हुन्छ
आगो
जसको जमिनको जस्तो न आकार हुन्छ ।
आगो
जसको न निषेधित क्षेत्र हुन्छ ।
जनता त आगो हो
आगोसँग कहिल्यै नजिस्कनू
र आगोलाई कहिल्यै ख्यालमजाक नगर्नू ।
सम्झ
यसकारण कि–
आगोलाई जिस्केको मन पर्दैन
आगोलाई ख्यालमजाक गरेको चित्त बुझ्दैन ।
आगो
सबैको साझा हो
आगो सबैको शक्ति हो
आगोभन्दा अर्को केही छैन
जो अरुलाई जलाउँछ र आफू जल्दैन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

