
ए मान्छे !
मेरो नाम रुख हो
तिम्रो रातो मच्छिन्द्रनाथ रथको
लिङ्गो हुँ
जीवनको पैँया हुँ
तिमीले शिर निहुराएर
ढोगिने देवता हुँ
तिम्रो सेतो मच्छिन्द्रनाथको
सिंगो स्वरूप हुँ
तिम्रो बिस्केट जात्रा भरिको
रथको काया बेताल हुँ
तिम्रो सभ्यताको परिचायक हुँ
तिम्रो संस्कृतिको धरोहर हुँ

गणेश वाम्बुले राई
बुझ यत्ति बुझ कि
म शताब्दी शताब्दी बाँचेर
आज तिम्रो सभ्यता थाम्न आएको छु
तिम्रा राजा महाराजा धिराजहरू
ढलेर समयका खिड्कीहरू
तिम्रा रानीवनमा हुर्किएर आएको छु
छप्छपी गिडिएर तिम्रा बन्चराहरूले
आज सभ्यताको सिन्दूर पोतिएको छु
बलिको बलिन्द्र रगतका थोपाहरू चुहाएर
तिमी जात्रा मनाइरहेछौ
जाँड रक्सीले नुहाइरहेछौ
हरेक वसन्त ऋतुको काँध चढेर
मलाई ढोग्न आउँछौ तिमीहरू
तिम्रा संस्कृतिको संघारमा ढलेर
मैले मेरो बलिदानी भोगिरहेको छु
ए मान्छे !
मेरो नाम रुख हो
मलाई तिम्रो सभ्य सहरमा
रमिता बनाउन ल्याएका छौ
उता मेरो भव्य जंगल उजाडिएको छ
शताब्दीऔं भविष्यहरू बाँकी छन्
सायद तिम्रो सभ्यताको बिडो मैले थाम्नु छ
बस् यत्ति भन्छु
तिम्रो सभ्यता जोगाउँन बिरुवाहरू रोप
बिरुवाहरूलाई रुख बन्न देऊ
हामी छौं र पो तिमीहरू छौ
उहीं तिम्रो सहकालको देवता– मच्छिन्द्रनाथ !
मानेभन्ज्याङ–६, ओखलढुंगा
हाल– ललितपुर, नेपाल ।
मो.९८४१२५६४८८
विश्व नेपाली साहित्य महासंघ दक्षिण युकेले विश्व वातावरण दिवस ५ जुन, २०२२ (२२ जेठ २०७९)मा आयोजना गरेको सातौं वातावरण साहित्य गोष्ठीमा वाचित कविता



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

