साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः मान्छे खाने देश (द्वन्दकाललाई फर्केर हेर्दा)

प्रल्हाद कुमार ढकाल

सत्ता जोगाउने
र सत्ता हत्याउने रोगले
सिकिस्त बिरामी राजनीतिज्ञ
खुंडा खुर्पा खुकुरी
बम र बन्दुकबाट
चल्ने राजनीति
मान्छेलाई मार हानेर
काट्कुट् पारी लुछेर खाने
कार्यकर्ता र सिपाहीहरु जन्माउँन सक्ने
पूतना आमाका कोखहरु भएको मेरो देश
मान्छे खाने देश

निहत्था मान्छेको शरीर
खुंडा र खुकुरीले वाउसे गरेर
गरिबकै नाउँमा
गरिबकै रगतको आहालमा
क्रान्तीकारी असारे गाउँदै
जनवादी रोपाईं हुने मेरो देश
मान्छे खाने देश

bahulako diary small and inside post

जनता नै सर्वोपरी भन्दै
चप्पल लगाउँन नसक्ने निमुखा
हली गोठाला कुल्ली र भरियाहरुका
टाउका करङ्ग र छातीहरु
विदेशी बन्दुकहरुले
छिया छिया पार्ने मेरो देश
मान्छे खाने देश

मान्छेका भोका आँन्द्राका माला लगाएका
डरलाग्दा नेताहरु भएको देश
सत्तासूरा पान गर्दा
सत्तासून्दरी भोग गर्न
मान्छेको सीतन खाने
लस्कर भुँडेहरु भएको मेरो देश
मान्छे खाने देश

मान्छेलाई दाम्लोले बाँधि
जनवादी बली चढाई खाने देश
बम र बन्दुकको धमाकाहरु सँगै
मादल घन्किई रहने मेरो देश
मान्छे खाने देश !

प्रतिक्रिया
Loading...