हिमरत्न अनुराग

पहराबाट झर्ना बहदै कलकल
चाँदीझै झल झल गर्ने जल निर्मल
छाल हान्दै अनन्त लहराई
मोहनी कस्तो लगायोनी मलाई

सुरीलो गाना कस्तो तरङ्ग छ
आँखैमा बस्छ कस्तो मनै दङ्ग छ
लाग्छ जलेवाझैं खेलीरहुँ जलमा
आनन्दानुभूति यस्तो पाई भूतलमा

भूस्वर्ग तल बग्नुनै उस्को रीत
छहरासँग चरीले लाउछ प्रीत
जलमा विश्व अनन्त झलमलाउछ
कविले शब्द संगीत यहीँ पाउँछ

बिहान मिर्मिरेमा नयन खुल्छ जब
झर्नाको कलकल सुनी बिर्सन्छु म सब
पीएर स्वच्छ जल चरीले तिर्खा मेटी
झर्नाको संगीतमा सौन्दर्य रेखा भेटी

मन यो स्वच्छ जल खाएर उन्मत्त भो
छाँगा र छहरा सब पाएर उन्मत्त भो
पहरामा फाल हाली अनन्त झर्झराई
बहन्छ झर्ना सधैं भूस्वर्ग भेट्नलाई

डाँफे

विराट पर्वत हिमाल मेरो घर
डाँडा र काँडा आफ्नै देश सुन्दर
गर्वले फुल्छ छाती हिमाली देश पाई
आफ्नै परिवेश राम्रो लाग्छ सँधै मलाई

यो शान्त सौम्य धरा डुल्छु म आफ्नै देश
आफ्नै सभ्यता राम्रो आफ्नै भाषा भेष
संसार चियाउँछु हिमालको शीरदेखि
कृतघ्न हुन्छु आफ्नै धर्तीमा पाइला टेकी

म नाँच्छु छुनुमुनु हिमाल हाँस्दाखेरी
यही शान्त धरातलमा जन्मिन पाउँ फेरि
जस्तै विपत्तिमा पनि झुक्दैन हिमाल यो
डाँफेले प्रीती गास्ने सौन्दर्य नेपाल यो

रम्दछ डाँफे सँधै हिमालकै सान्नीध्यमा
गौरव गर्छ सँधै त्यो आफ्नै सौन्दर्यमा
सम्झन्छ जन्मिएको माटो नै ठूलो धन
पाल्दैन कपट मनमा छाड्दैन आफ्नो पन

भुल्दैन स्वाभिमान विर्सिन्न धरातल
मेटेर तृष्णा मनको पीएर स्वच्छ जल
हिउचुलीको सँधै न्यानो माया बटुल्छ
पंखेटा फिजाई डाँफे हिमाली पाखा डुल्छ

 कालेहश्वर, ललितपुर