मेरा स्वर्ग भैसकेका हजुरबुवालाई सोध्न मन छ
“हजुरबा ! नर्क साँच्चै हुन्छ र ?“

त्योबेला स्याखु बन्दै गर्दा भन्दै थिए उनी –
“स्याना ! झूटो बोल्ने नर्क जान्छन !
स्याना ! पाप गर्ने नर्क जान्छन् !
मरेर लानु के छ र, सबैको भलो गरेस्
स्याना ! कुभलो गर्ने नर्क जान्छन् ।“

त्यसपछि स्याखु सकियो, हजुरबा सकिए
बूढालाई जल चढाँउछु र आजको वृतान्त बताउँछु –
“हजुरबा ! झूटो बोल्ने हाकिम भएका छन्
हजुरबा ! पाप गर्ने नाइके भएका छन्
श्रमजिवीको पसिना चुसी, जुकोजस्तै ढाडिराछन्
हजुरबा ! कुभलो गर्ने कुबेर भएका छन् ।“

हजुरबा फिटिक्कै बोल्दैनन् आजकल
बुढा बोल्नेभए सोध्ने थिए
“हजुरबा ! पापलाई केहिले गुन्छ र ?
हजुरबा ! मूर्खलाई दबाइले छुन्छ र ?
बाँकी छैन घरमा केही, स्याखुसमेत चोरी सके
हजुरबा ! के यी जानलाई नर्क साँच्चि हुन्छ र ?“