आँखाले
देह पिउन पाउनुको मज्जा
कानले
श्रवणीय सुखद् समाचार
ग्रहण गर्नुको आनन्द
गोडाहरूले
सार्थक यात्रा
गन्तव्यमा
पुर्याएको
सन्तुष्टि अवर्णनीय छ,
धरणीको काया भन्दा
धेरैमाथि कावा खाइरहेका
निर्बन्ध
पुलकित
अहर्निष
व्योम पथमा
कानेखुसी गर्दै
उडिरहेका भालेपोथी
आहा ! खेचर
देह पिउने आँखाभन्दा
आवाज नियाल्ने कानभन्दा
सन्तुष्टि चुम्ने गोडाभन्दा
धेरै खुसी छन्,
चराहरूको राज्यमा
न झूट छ
न लुट छ
न त फुट छ
मानिसले
दुरूह
आविष्कार कोरल्यो
अकल्पनीय प्राप्ति भोग्यो
मानिसका सबै असम्भव
पूरा भयो
सबै जित्यो
तर मानिसले
मानिस जित्ने
द्यूत क्रीडामा
अन्ततः सबै हार बेहोर्यो
र सोही रन्कामा
लखरलखर दौडिरहेछ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
