हिँड्नु कति खतरनाक हुन्छ ?
चट्याङ छ मनभित्र
प्रेम गर्नु, गरिरहनु…….
प्रेम गर्नु तर कति खतरनाक हुन्छ ?
मुटु छ दहभित्र

नगर्नु केही पनि
गर्नु पर्ने/नगर्नु पर्ने केही पनि नगर्नु
घटिरहनु यस बीचमा पनि तर
घट्नै पर्ने थुप्रै घटनाहरू……

कतै जाँदै गरेको कुरा
आफूलाई समेत थाहा नहुनु
थाहा भए पनि थाहा नदिनु
कुवाको सङ्ग्लो पानीमा
जिन्दगीलाई भिजाइदिनु आधा
र आधालाई सुकिलै छाडिदिनु
सुकेका रूखका हाँगाहरूमा
सेताम्मे फुलिरहनु आरुका फूलहरू जसरी— चराहरू
सुनाखरी ठानेर टिप्नु त्यसलाई
र टाँस्नु लपक्क छातीमा
हातमा एउटा फूल हुनु
पहेंलो/पहेंलो, रातो/रातोजस्तो फूल
प्वालहरू हुनु पुष्पदलको बीचमा
एउटै आकारका थुप्रै प्वालहरू…….
त्यसलाई सम्झिनु बाँसुरी
बजाउनु जोडले आवाजै सुक्ने गरी
अलिकति पनि नसुन्नु हावाले समेत तर

थुप्रै कुराहरू हुनु नि यसरी नै
म सोचिरहँदो थिएँ
यता भइसकेछ केही नहुनु पर्ने

देखेर पनि भनिनौ तिमीले
दहका भिजेका कपडाहरू खोलेर
एकाबिहानै उडिगएछन् बाफहरू दहबाट
खोज्दा दहभित्र थुप्रै मुटुहरू भेटिए
श्वास फेर्न बिर्सेका जलकुम्भी, कमल र लेउका मुटुहरू भेटिए
ढुङ्गाका नभएका मुटुहरू भेटिए
अरु पनि धेरै धेरै मुटुहरू भेटिए

थाहै पाइन तर मैले
कुन बाफले पोल्टामा च्यापेर उडाइलगेछ
आफूसँगै मेरो मुटु पनि…….

कतै जाँदै गरेको कुरा
आफूलाई समेत थाहा नहुनु
twitter: @SeasonShrestha