पञ्जाबस्थित पटियाला निवासी डा. अमरजीत कौंके पञ्जाबी साहित्यका सुप्रसिद्ध कवि हुन्। उनका पञ्जाबीमा सातवटा अनि हिन्दीमा पाँचवटा कविता सङ्ग्रहहरू प्रकाशित छन्। यसबाहेक हिन्दी, पञ्जाबी, अङ्ग्रेजीमा ३० वटा भन्दा अधिक अनुवाद पुस्तकहरू प्रकाशित छन् भने बाल-साहित्यका पाँचवटा पुस्तकहरू प्रकाशित छन्। कवि कौंकेले साहित्य अकादमी अनुवाद पुरस्कारसहित राष्ट्रिय स्तरका धेरै पुरस्कारहरू प्राप्त गरिसकेका छन्। सन् २००३ देखि निरन्तर प्रकाशित भइरहेको चर्चित पञ्जाबी साहित्यिक पत्रिका ‘प्रतिमान’-का उनी सम्पादक हुन्। देशका अनेकौँ साहित्यक संस्थाहरूबाट कवि कौंके सम्मानित भइसकेका छन् ।
=====
१. ढुङ्गा
ऊ जो मेरी
कविताहरूका आत्मा थिई
मैले हेर्दा-हेर्दै
अचानक ढुङ्गा बन्न पुगी ।
असङ्ख्य स्मृतिहरूका पानी
छर्के मैले ऊमाथि
उसका कमरमा कुतकुताएँ
आफ्ना पुराना
कविताहरू सुनाएँ
विगत ऋतुहरूका हाँसो स्मरण गराएँ
तर उसलाई केही पनि याद आएन
यसरी
सम्झनादेखि धेरै पर
ऊ ढुङ्गा हुन पुगी ।
उसको एकतर्फ म थिएँ
सूर्यको सातौँ घोडा़मा चढे़र
कुनै राजकुमार जस्तो
उसलाई रिझाइरहेँ
उसको सपनामा
उसका औँला समाएर
अनन्त आकासमा
उसलाई घुमाइरहेँ।
अर्कोतर्फ उसको घर थियो
जहाँ उसको उमेर पुर्रिएका थिए
उसका श्रीमान थिए
जोसँग
उसले जीवन बिताएकी थिई
छोरा-छोरीहरू थिए
जो यौवनको सङ्घार
नाघिरहेका थिए।
एकतर्फ उसको
संस्कार थियो
मङ्गलसूत्र थियो
सिँदुर थियो
ढल्दो रूपको दम्भ थियो।
समाजका बन्धनहरू थिए
हाथमा चुराहरू थिए
जो उसको निम्ति अब
साङ्लो बनिँदै गइरहेको थियो
उसलाई लाग्थ्यो
कि उसका सपनाहरूका उमेर
उसका संस्कारहरूले नै निलिरहेका छन्।
यहीबिच
यसरी फस्न थाली ऊ
कि अचानक
ढुङ्गा बन्न पुगी।
………………
२. आधुनिक तक्निक
सुन्ने गर्थ्यौँ
कि मानिसहरू अनुहारमा
मुखौटो लाउँने गर्छन्
धेरै पुरानो कुरो हो यो
एउटा मुखौटो मुन्तिर
दोस्रो
फेरि तेस्रो
यो कुरा पनि पुरानै हो
बदलिँदो समयका साथ
परिवर्तन आउन थाल्यो
अहिले मानिसहरू मुखौटो लाउँदैनन्
अब उनीहरू क्षणभरमै
अनुहार बद्लिने
आधुनिक तक्निक सिकेका छन्
अहिले तिम्रो अगाडि
परेवा बसेको थियो
अहिले गर्जने बाघ बन्यो
फेरि उ धुर्त शियालमा
परिवर्तित भयो
अनि अहिले च्याखुरा-बट्टाइ बन्यो
अहिले उ पाल्तु कुकुर थियो
तिम्रो खुट्टा चाटिरहेथ्यो
अहिले उड्ने साँप बनेर
तिमीलाई डसिरहेछ
यति विषालु छ कि
मानिसहरू पानी समेत माँग्न पाउँदैनन्
मानिसहरू
मुखौटो लाउँने गर्थे
यो युगौँ पुरानो कुरा हो
अहिले मानिसहरूले
अनुहार बद्लिने
आधुनिक तक्निक सिकेका छन्।
(कवि स्वयंद्वारा पञ्जाबीबाट हिन्दीमा अनुवाद)
======
बिलोक शर्मा कवि अनि अनुवादकको रूपमा परिचित छन्। उनका मौलिक कविता सङ्ग्रह ‘समयाभास’ (सन् २०१९) उनि ‘कबितार रोटेपिङ’ (भारतीय नेपाली कविताहरूका बङ्गला अनुवाद सङ्कलन, सन् २०२२) प्रकाशित भइसकेका छन्। विगत दुई दसकभन्दा बढी समयदेखि साहित्यलेखनमा होम्मिएका शर्माका देश-विदेशका विभिन्न पत्र-पत्रिकाहरूमा कविता अनि अनुवाद रचनाहरू (नेपाली अनि बङ्गला) नियमितरूपमा प्रकाशित हुन्छन्। मदारीहाट, डुवर्स (भारत)-का स्थायी वासिन्दा उनी हाल उत्तर भारतको लुधियाना सहरमा कृषि-प्रबन्धकको रूपमा कार्यरत छन्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।