कविता:एकताको सुहाग बन्नसकूँ

शीरमाथि सगरमाथा सजाई
हाँस्न सकूँ
नौमती र पञ्चेबाजा बजाई
नाँच्न सकूँ
छैन केही मेरो देशमा भन्दै
गुलाम बन्नु साटो
खनी बाँझो,रोपी सीप
फुल्दै बाच्न सकूँ
यही बग्छन् मेची काली
कर्णाली र भेरी
बाह्रैमास हाँस्छ हिमाल
बिष्मातलाई छेली
सुन खोजौ नुन खोजौ
खोजौ हीरा मोती
सुहाग बन्दै हिमाल पहाड
जोडी बाँच्न सकूँ

हिमाल चढी स्याब्रु नाचूँ
तराई झिझिया त
झ्याली झ्याम्टा हुड्को फास्मुक
देउडा संगीनी छ
चैत लागे लेक सार्दै गोठ
मङ्सिरमा बेसीं
अनेकता बीच एकतामा
रम्दै बाँच्न सकूँ
तराइलाई दुख परे
पहाड झुक्न सकोस्
पुर्णताको छानो बनी
हिमाल उठ्न सकोस्
तेरो मेरो भागबण्डा
गरिरहनु भन्दा
एकढिक्का भै समृद्धिको
मार्ग खोप्न सकूँ !