रवि सुवेदी

प्यारा यी वन शैलका नजिकमा क्या रम्दछन् यी चरी
चाख्दा हुन् कि कतै बसेर तरुमा सत्काव्यको माधुरी।
ठट्टा ख्याल गरी मनुष्यसरी ती मुस्कान छर्छन् कि वा
भन्दा हुन् अथवा कि “स्वर्णिमधरा नेपाल नै हुन् अहा”।।१।।

गौरीशंकर शैलका शिखरमा रम्ने गरेको स्थल
हाम्रो सुन्दर देश झैँ अरु कहाँ सौन्दर्य भेटिन्छ र ?
माटोको इतिहास यो हृदयमा मेटिन्न जस्तै गर
नेपालीपनको सुगन्ध अझ झन् बढ्दैछ चारैतिर।।२।।

रच्छन् गीत हजार लाख छिनमै झर्नाहरूले सुन
राराको उपमा दिने कुन कुरा भेटिन्छ विश्वै घुम।
माटो चन्दन तुल्य मग्मग गरी जो दिन्छ सम्मोहन
मेरो राष्ट्र सिवाय सुन्दर अरू खै धर्ती होला कुन ।।३।।

खेल्दै खेल पहाडका शिखरमा चौरी र डाँफेसँग
नाँच्दै सुन्दर देवदारु वनमा हावा सँगैमा अझ।
झर्नाका मृदु गान मन्दगतिका सम्झन्छु ती झल्झली
स्वप्ना झैँ अब झुल्किँदा हृदयमा चल्दैछ यो खल्बली।।४।।

जाऊँ गीत सुनाउँदै कि त मता यी दिव्य पाखा तीर
रच्छन् काव्य जहाँ विचित्र रङका पंछीहरू सुन्दर।
टल्कन्छन् हिमशैल ती प्रणयको लाली लगाइकन
हाम्री प्राकृतिकी सुरम्य जननी हर्छिन् सदा यो मन।।५।।