रमा पौडेल

कवि काल्पनिक हुन्छ
जीवन यथार्थमा चल्छ
यथार्थ र कल्पना
आकाश र जमिन जस्तै हुन्

ऊ आकाश बुझ्छ
धर्ती बुझ्दैन
ऊ संसार घुम्छ
आफ्नै घर आँगन घुम्दैन

ऊ संसारका सुन्दरी बुझ्छ
आफ्नै आडमा भएकी श्रीमती बुझ्दैन
संसारको प्रेम बुझे जस्तो गर्छ
उसको माया नपाएर
टाढा भएकी प्रेमीका बुझ्दैन

कवि पत्रिका पढ्छ
समाचारलाई कविता बनाउँछ
तर
कविताको पात्र बुझ्दैन

ऊ कविता सुनाउँछ संसार रुवाउँछ
बा आमालाई लाग्छ मेरो छोरा यस्तै होस्
श्रीमतीलाई लाग्छ मेरो श्रीमान यस्तै होस्
प्रेमीकालाई लाग्छ मेरो प्रेमी यस्तै होस्

संसारलाई काल्पनिक हुन बाध्य बनाउँछ
तर
स्वयम् कवि आफूलाई बुझ्दैन

कवि संसार बुझेको भ्रम छर्छ
संसारको दुःख आफ्नै जस्तो गर्छ
आफ्नो जस्तो गर्नु र आफ्नो हुनु
बुझे जस्तो गर्नु र बुझ्नु
फरक कुरा हुन्

त्यसैले कविलाई मान्छे बन्न आग्रह छ
मान्छे बनेपछि कविता आफैँ बन्छ ।

  दाङ