टंक सिटौला

हे प्रेममञ्जरी मेरी प्रेयसी

नौलो प्रीतिको मात लागेर हो कि
तिम्रो यौवन साह्रै राम्रो देख्छु
धेरै माया दिन्छु प्रिय तिमीलाई स्वीकार्छु
परेली झिमिक्कै नपारी हेरिरहे पनि
यी आँखाका तरेलीमा तिमीनै भेट्छु
थाक्ने छैनन् नयन मेरा तिमीलाई ताक्ता
करोडौं नजरले चुमुन भन्छु तिमीलाई देख्दा
आफ्नो पीडा सबै भुल्छु तिम्रोबारे सोच्दा
मसी सिद्धियो कलम रोकियो तिम्रोबारे लेख्दा

हे प्रेयसी प्रेम मञ्जरी

अचम्मको छ तिम्रो शरीरको बनौट
न त होची न अग्ली
न त मोटी न पातली
न त काली न गोरी
सँधै तरुणी तिमी न त हुन्छौ बूढी।
कहिलै नफेरिने रहेछ तिम्रो अठोट,
मर्यादा बढ्दछ तर हुदैन काया पलट
जन्मजात बहार तिमी पतझर बन्दछौं हामी
एकरङ्ग सदैव तिम्रो रङ्ग फेर्दछौं हामी

हे मेरी प्रेयसी रम्बास

बलिष्ठ चौबाहुले परिवेष्ठित तिम्रो रम्यभूमि
कसैले तोड्न खोजे तिमी नतोडिने
कसैले तान्न खोजे पनि नतानिने
अस्तित्वको दृढ़ कवचमा बेह्रिएर
अस्मिताको यौनिक “सुवास” फिँजाउछौ
प्रवीणलाई लोभ्याउदै, नवीनलाइ छान्दै
तोडने र तान्नेलाइ पनि प्रेमले रिझाउछौ
“यशस्वी भव” को आशिक थाप्दै
नव काव्यको सुधा पिलाउँदै
शब्दाश्त्रले अनुरागीहरू कायल पार्दै
तिमी नौलो साम्राज्यकी “सम्राज्ञी” बन्यौ

हे प्यारी रम्बासुन्दरी

शब्दालङ्कारको खजानाले भरिएकी तिमी
एक देखि उन्नानसय सम्म नै गनी गनी
सुन चाँदी हिरा मोतीका सबै लायौ छानी छानी
बिछट्टै सजिएकी उनी मेरी आँखाकी नानी
शिरमा शिरोमणि “चन्द्र” गहना लाउने
निधारमा एकतारे टीका टल्काउने
कानमा लुर्कना दुबै सुहाउने खुबै
गलामा सजिन्छ नौगेडी सँधै
कम्मरमा दसहाते पटुकी कसेर
कसरती बदन बनाउन लाग्यौ
मोटोपनको मोह त्यागी छरितोमा रम्न जान्यौ
आद्योपान्त वर्णन के गरौँ प्रिय
तिमीमा रम्न चाहनेलाई कामवाणले हान्यौ

हे प्रिय
अद्वितीय सौर्न्दर्यले पुर्ण तिम्रो युवा अवयव
शिरदेखि पाउसम्म छिचोल्दै जाँदा
नयनाभिराम ज्यामितीय विशिष्ट परिधिभित्र
तिम्रो अम्लान सुन्दरता छामियो
तिम्रा चखिला शब्दावलीको मिठास चाखियो
तिम्रो बखानमा कति कविता नै लेखियो

हे मेरी मायाकी खानी

अब त तिम्रो प्रीतिको लत पो लागेछ कि
रूप-राग र भावले पूर्णता पाएर होकि
नौलो रस-रागले लट्याएर हो कि
तिमीलाइ असाध्यै राम्री देख्छु
अदम्य प्रेमाभुतिले तिमीलाई पुकार्छु
मेरो सृजनाको श्रोत तिमीनै स्वीकार्छु
अद्वितीय नामले चिनिएछौ मायालु
नौलो आयामकी प्रेरणा तिमी
मेरी प्रेम मञ्जरी प्रेयसी
प्यारी “रम्बास”।