Chovar Blues Mobile Size

आजका मनुवाहरु
पढे लेखेका विद्वान् त पक्कै हुन्
तै पनि
म चकित पर्छु
र त सोच्छु कैलेकाहीँ
यिनीहरू त
विवेक नभएका पटमूर्खहरु हुन्
प्रतिस्पर्धाको बादलले प्रेमको आँखा छोपेपछि
मानवता मरेका दानवहरु हुन्
भौतिक अभौतिक
धर्म अधर्म
राजनीतिदेखि लाजनीतिसम्मका
महानतम् विश्लेषक भएपनि
मन मस्तिष्क अनि सुक्ष्म चेतनामा
लिंग योनी र स्तनको ग्रहण लागेका
शैतानी आत्माहरू हुन्

मिलन कार्की

आजका मनुवाहरुलाई
अभाव र भविष्यको कुनै चिन्ता छैन
यिनलाई चिन्ता छ त केवल
आफ्नो क्षणिक सौँन्दर्यको
समयक्रमसँगै थोत्रिएर जाने
लिंग योनी र स्तन सँगै
शुक्रकिटको एक सानो अंश
यो खोक्रो देहको

तपाईं भन्नुहुन्छ
यो एक्काइसौं शताब्दी
वैज्ञानिक युग
दानवहरु मानव बन्ने
मानवहरु देवात्मा बन्ने
इतिहासकै पहिलो
स्वर्णिम युग
अरे…
यो कस्तो अर्धसत्य
यो कस्तो पागलपन
यो त
प्रत्येक पोर्नस्टारहरुको
नाम अनि
अंग प्रत्याँगको नाप र आकार बारे
खोजी बहस र विश्लेषण गर्ने युग
वैज्ञानिक युग नभएर
पोर्नोग्राफी युग
केवल पोर्नोग्राफी युग !