शंकर ढकाल

     शिखरिणी छन्द

भनूँ नेपाली हुँ रगतरङ पानाभरी भरी
हुँला व्यर्थै धर्ती-मल म पनि जन्मेपछि मरी
अझै आमा आफैँ छु म शहीद भूस्वर्ग नगरी
पढूँ चिठ्ठी भित्रै कलियुग कथा आज कसरी ।।१।।

सजाएँ सत्स्वप्ना मनभरी हिजोका दिन किन
भुलूँ भुल्नै गाह्रो सकिनँ नि स्वदेशी ऋण दिन
स्वयंलाई बेची परिचय म मेरो छवि पनि
रचूँ चिठ्ठी बाबा मलिन परदेशी कवि बनी ।।२।।

न मेरो आफ्नै हो मन धन सबै जीवन पनि
जिऊँ लाग्नै छोड्यो सुखसहित स्वाधीन म बनी
न हाँस्नै सक्छौ झन् न रुँन थुनिँदैछौ घर चरी
दिदी गाई भैँसी दिनहुँ पढ चिठ्ठी भर परी ।।३।।

भनूँ तिम्रो मेरो मनरहर हो एक सपना
बुझी बुझ्नै गाह्रो दिनहुँ विपना दु:ख छ घना
सुनाऊँ सानै छौ धनतन व्यथा हे शिवहरि
दिऊँ चिठ्ठी तिम्रो अनुज कसरी प्रेम नभरी ।।४।।

भयो के भक्‌भक्‌भक् रगत किन उम्लिन्छ दिनहुँ
धरालाई भारी कपिकवि सरी शङ्कर न हुँ
ममा भित्रैभित्रै कति चलिरह्यो द्वन्द्व अहिले
दिऊँ मेरो चिठ्ठी अब स्वमनलाई म कहिले ।।५।।

तानसेन ,पाल्पा
हाल:- BSM कार्यालय ,नागपुर