कविताः शिक्षक, कवितानामा-१, २ र ३

कवितानामा-१
यदि फूलको दोष नै त्यो निर्दोष हुनु हो
र
काँडाको दोष नै त्यो दोषी हुनु हो भने
जुन दिन हो पहिलोचोटि
फूलको नियतमा काँडाको धार चढेको
र
काँडाको हातमा देखा परेको सुन्दर फूलगुच्छा
जुन दिन हो पहिलोचोटि
प्रेमको मनमा छलले जालो बुन्न थालेको
र
घातको आँखामा फक्रन थालेको रातो गुलाफ


त्यहि दिनदेखिन् हो प्रेमले नयाँ रंग फेर्नु थालेको
त्यहि दिनदेखिन हो प्रेमले वैरागी राग अलाप्नु छोडेको
प्रेम मौन छैन अहिले
प्रेम नर्वस छैन अहिले
प्रेम ठ्याक्कै सालिन पनि छैन अहिले
जहाँ प्रेम जस्तो कठिन केही छैन अहिले
जहाँ प्रेम जस्तो ठूलो चुनौती केही पनि छैन अहिले
किनभने
काँडाको सुन्दरता निख्रेको छ अहिले
र मन फूलको सम्मोहनबाट मुक्त
कवितानामा-२
यो फूलको कुरा हो
फूल न सुन्दर हुन्छ न त कुरुप
फूल न कोमल हुन्छ न त ठोस
फूल न जङ्गली हुन्छ न त घरेलु
फूल, फूल जस्तै हुन्छ
फूल, फूल मात्र हुन्छ
फूल हेर्न चाहनेहरुको लागि एउटा फूल सँधै
फुलिरहेको हुन्छ
एउटा फूल
सधै एउटा फूलसम्म सिमीत हुँदैन
न त फूल फुल्नु भनेको केवल फुल्नु मात्र हुन्छ
एउटा फूल फुल्नु भनेको समय फुल्नु हो
फूल जस्तै केही नभनी धेरै कुराहरु भन्नु हो
यसैकारण
फूल चुपचाप हाँसीरहेको बेला पनि चुपचाप हुँदैन
कहिले
कवितानामा-३
फूललाई थाह छ
बडो निर्ममतासाथ चुडाईनु र
कुनै निर्जीव देवताको
पाश्विक चरणमा फ्याँकिनु औ खेरो जानु पर्दा
कस्तो हुन्छ
या त कस्तो हुन्छ
जब बर्बरिकताको साथ निर्दयी हातहरुद्वारा बारम्बार टुक्रिनु
कति कठोर छ
सुन्दर हुनुको दाम चुकाउँनु
जसरी उखुलाई थाह छ
काटिनु पिसिनु औ रसको अन्तिम एक थोपा रहुञ्जेलसम्म निचोरिनु
कति कठोर छ
मीठा हुनुको दाम चुकाउँनु
जसरी तिमी !
डुवर्स ,भारत