पुस्तौंदेखि चलिरहेछ
अस्तित्वको एक भयानक युद्ध !

न यता
न उता जस्ता
नाता गोताहरू जाताततै छन्
र, जिस्क्याइरहन्छन् बेला बेला ।

तिनीहरूलाई लाग्छ
हामीसँग तिनीहरूको
दम्भ भङ्ग गर्ने कुनै भेद छैन ।

उनी
बिर्सिन्छन्
हामी त आमाको
गर्भबाटै गर्व बोकेर आएका मान्छे ।

हामी नजन्मिदै
यहाँ जन्मिसकेको थियो स्वाभिमान ।

हाम्रो आँखा नखुल्दै
बुद्धले खोलिसकेका थिए सत्यको आँखा
हामीले नकराउँदै
बन्द गरिसकेका थिए अशान्तिको मुख ।

ति
नातेदार जस्ता
देखिने नाट्यदारले
सधैँ सबै मेरै हो भनिरहे ।

बुद्ध आफ्नै भने
सीता आफ्नै भने
मधेश आफ्नै
लिपु आफ्नै धुरा आफ्नै
टिष्टा देखि कांगडासम्म
माटोदेखि पानीसम्म
जवानदेखि जवानीसम्म
सबै सँधै आफ्नै हो भनिरहे ।

उसलाई
यो पनि आभास छैन कि
जुन सागरको नुन उसले खाइरहेछ
त्यसमा पनि हाम्रै पुर्खाको पसिना मिसिएको छ ।

उसलाई त
आफ्नो सिमाना
बचाउन समेत हामी नै चाहिन्छौं
अनि, किन उसले हाम्रो सिमानामा नानाथरी
गरिरहन्छ ?

होलान केही
उसले बजाएको
बाँसुरीमा नाच्नेहरू
तर,
अब धेरै बेर छैन
उनीहरूलाई रिङ्गटा लाग्न
उसले सत्तामा खुवाएको
भत्ताको पत्तासाफ हुने
बेला हुँदैछ

स्मरण रहोस उसलाई

नियालिरहेछ सागरमाथाले
संसारका सबै अग्ला मनमानीहरू
र, पर्खिरहेछ उग्रताको चरम सीमा
ताकि भत्काउन सकोस ति दम्भहरूको उचाई ।