राजेन्द्र भण्डारी

आँगनदेखि दलानसम्म
तनक्क तन्किएको छ तार।
तारमा सुकिरहेको छ आमको फरिया।
सुकिरहेको छ हल्लिँदै आमाको जीवन।
हल्लिरहेकी छन् आमा तारमा।
हतारमा।
दिइसकेकी छन् आमाले मलाई
उनको आँखाको चमक।
अनुहारको महक।
पहाडभन्दा हेमानको माया।
उनका अनुहारका चाउरीहरुमा
कहीँ कतै अवश्य छु म।
उनका रोगका असङ्ख्य कीटाणुहरुमध्ये
एउट न एउटा अवश्य हुँ म।
लडिन् उनी जीवनभर तर जितेँ मैले।
उनको औँला समातेर मैले हिँड्न सिकेँ
र उडेँ बादक बादल।
तर धरती छोडिनन् उनले।
झरीभरि ओत दिएर अहिले
तारमा हल्लिरहेको छ आमाको फरिया।
पूजाकोठामा अझै पनि
कहिल्यै खुसी नहुने देवताहरुलाई
हात जोर्नमा
खुसी हुन्छिन् आमा।
आमाको सङ्गीत डाडुपन्युको
ठाङ्ठाङ ठुङ्ठुङ।
तामाको टल्केको थाल आमाको अनुहार।
म हाँस्छु, उनी घाम झुल्किन्छिन्।
म बादल लाग्छु, उनी साँझ पर्छिन्।
छड्किन्छिन् गृहस्थीको ओदानमा।
कुन खानेकुरालाई कति आँचमा पकाउनु
कुन नानी रुँदा कसरी फकाउनु
जान्दछिन् आमा।
बाबुका कर्कश पारा
छोराछोरीका आधुनिक इसारा
जुठा थालबटुका र रित्ता टिनमाझ
कसरी मिलाउनुपर्छ सङ्गति, लय, ताल
जान्दछिन् आमा।
केही लज्जाको, केही ताप-उत्तापको
केही वात्सल्य, केही आत्मसम्मानको
कथा बन्दै, एउटा मीठो धुन बन्दै
तारमा हल्लिरहेको छ आमाको फरिया।

राजेन्द्र भण्डारी
कालेबुङ, भारत