मधुप्रसाद घिमिरे

सुस्ताएको पहाडले
मेरो पुकारा गरेर भन्यो
ए मानव मलाई केही
समय विश्राम गर्न दे न
मेरो श्रवणशक्ति
कम भएकाले उसको
आवाज अस्पष्ट सुन्न पुग्छु
ममाथि अझै राज गर्
आफ्नो अस्तित्व जोगाउँदै
त्यहीँ पहाडको खोँचबाट
सुसाएको खोलाले
कमजोर शक्तिहीन अवस्थामा
आफूमाथि फोहोर दुर्गन्धले
बलात्कार गर्‍यो भनी
मलाई आँसुका थोपा देखाउँदै
इसारा गर्छ मैले देख्छु
ए अझै पानी त सफा बग्दै रहेछ
आफ्नो सुख विलासका निम्ति
जान्छु रेस्टुरेन्टमा अनि गर्छु मस्ती
फर्किन्छु मात र उन्मादले भरिपूर्ण भएर
त्यहीँ कसैले हात थाप्दै भोक टार्न
खोज्दै थियो भनिदिन्छु
साला भिखारीहरू अझै
हात थाप्छन् अनि हातमा थुकिदिन्छु
बिचरा त्यो अपाङ्ग वृद्ध
पुरुषले आँसुका नदी बगाउदै
पुर्लुक्क हेर्छ सँगै भुइँको माटो
लागेको रोटीको टुक्रो
आँसुसँगै खपाखप खान्छ
लागिदिन्छन् उसको रमिता
हेर्ने भिडहरू
डुल्छु दिनभर
सोझा रूखहरू काट्छु अनि
बनाउँछु बेहिसाबका
ठुटा र मुढाहरू
बनिदिन्छ ठूलो जङ्गल
शून्य र अस्तित्वविहीन
यतिले अझै पुग्दैन
गर्दै जान्छु बलात्कार र हत्या
पुर्‍याइदिन्छु दिनदिनै गरी
मर्नेको सङ्ख्या हजार
मिल्दैन अझै शान्ति
जान्छु वेश्यालय
सुन्छु उनीहरूको चीत्कार
तर आउँदैन मनमा दया
गरिदिन्छु यौनाङ्गमा छुरा प्रहार गरी
एउटा बीभत्स हत्या ।

 

धुर्कोट, गुल्मी

हाल काठमाडौं