मन गहिरे

फुल्नै नपाई चुडालिएका कैयन कोपिलाहरु
निमोठिदिएका उनका सपनाहरू
लक्ष्य र उद्धेश्यको सुरुवात नहुँदै
टुक्रिएका भाग्यरेखाहरु
सायद अब पालो तिम्रो आएको छ
जाग छोरी चेलीहरु
जेलिएर रहेको त्यो साङ्लो चुडाल अब
बन्द गरि राखेको भोटे ताल्चाको
चाबी खोल अब
आफ्नै आफन्त बाबु दाजुभाइ अनि
प्रेमी भनौदाहरुबाट तड्पिएका
वेदनाहरु
छताछुल्ल पार अब
ताकि तर्सिउन झस्किउन अब आइन्दा
तिमीलाई छुन पनि डराउन्
तिम्रो शरीर लुछ्ने ती ब्वाँसाहरुलाई
निमिटयान्न पार अब
इज्जतदारको घुम्टो ओढेका मुकुन्डोधारीको
असली रुप देखाइदेऊ
न्याय हराएको मुलुकमा कैयौं
निर्मलाहरुको ज्यान गयो
थामिएका छैनन् ती आँसु अझै
अपराधीलाई सजाय दिलाउन जाग अब
गल्ती उस्ले गर्छ पीडा तिमी मात्र भोग्छ्यौ
तिमी मात्र कति बलिदान दिन्छ्यौ
उखेल्नु छ जरै देखि फाल्नु पर्छ मिल्काएर
समाजका कलंकहरुलाई
अब नयाँ चेतनाले भर जहाँ तिमी सुरक्षित हुनेछौ
बर्षौ देखि गुम्सिएका
मौनतालाई तोडेर सत्यको पर्दा खोल अब
अन्न्याय अत्याचारको बिरुद्धमा खुलेर बोल अब !

तानसेन / पाल्पा