नारायण घिमिरे

तिम्रो पालामा
तिमीले फिँजाएको
तिम्रै अवसरवादको दोकान बाट
मैले
मेरै
नैतिकता नामको खोटो सिक्काले
न आफ्नो भाग्य किन्न सके
न बच्चाको भविष्य

घाटामा चलेको
परिश्रमको हाट बजारबाट
सस्तोमा उठाएको पसिनाको थोपाले
मालिकको घाँटी त भिज्यो होला
तर
तर भिजेनन्
मेरो छोराको कापी केर्ने सपनाहरू
छोरीको चुल्ठो बाट्ने चाहनाहरू

श्रीमतीको पेट भर्ने रहरहरू

कर्मको मैदानमा
कर्तव्यको फुटबल गुडाउँदा गुडाउँदै
खिइएका पैतालाको रुञ्चे छालाबाट
हतास बनेको मेरो शरीरलाई
न त
गणतन्त्रको टेकोले अड्याउन सक्यो
न संघीयताको लौरोले थेग्न सक्यो

टोल टोलको र घर घरको सिंहदरवार
मात्र
मात्र घरको सिंहदरवार बन्दा
बेकार उठेका आन्दोलनका उभारहरू

बिचरा बनेका परिवर्तनका उचाईहरू
नियालेर
कुरी कुरी भन्दै
हाँसिरहेछन् डाँडाको वर पीपलहरु

हुने खानेहरूको पैतालाले
हुँदा खानेहरूको
स्वाभिमान लत्याइ रहँदा
रुँदै गरेको
गणतान्त्रिक बालक
फकिन नपाउदै
पारिवारीक जामाले
व्यक्तिगत बिरासत जोगाउन लालायित
मेरो देश
“आमा ! आमा ! बाउ आए !” उखानको
सापटी संस्करण बाँचिरहेको छ

गणतन्त्रको कोमल बिछ्याउनामा
फिँजाएको गरिवीको च्यादर
टक्टक्याएर
फेरफार गर्दा
न छोपिएको
सामाजिक असमानताको खाडल
जातीय विभेदको उचाई

आर्थिक अवन्नतिका सूचकहरुलाई
जरैदेखी उखेल्न
अघि बढेका
एक हूल युवाहरू
चौबाटोमा पथ भुलेको यात्रु झैं
अलमल्लमा छन्

टोल टोलमा
मान्छे मान्छे बाट त्रसित छन्
गाँउ गाँउमा
मान्छे मान्छेबाट त्रसित छन्
किनकी
अपव्याख्याको आगोमा
सभ्यताको सहर हुर्हुरी बलेको छ

हामी हुन नसकेको म

हाम्रो हुन नसकेको मेरो ले
संविधानको मुलायम पानामा
स्वर्णिम अक्षरमा लेखिएको मेरो भाग्य
हजुरकै निगाहमा
हजुरकै खातिर
हजुरकै आँगनमा
बलिदानी गरेर
सापटीको पुरानो जड्यौरी भाग्य
तानतुन पारेर
भत्किएको पर्खालबाट
मात्तिएको हजुरको जीवनी नियाल्दै
म पाजी
स्वर्गीय हाँसो हाँसी रहेछु।

व्यवस्थाको सुन्दर बगैँचामा
कुशासनको कुरुप साँडे दौडाएर
निरीह रमितेहरू
अट्टहास हाँसो हाँसिरहँदा
मेरो चेतनाको आँखा
युद्धको मैदानमा
अदम्य साहसपुर्वक
दुस्मनको मुटु थर्काएर
उसैको किल्लामा
बम र बारुद प्रहार गरिरहेको
कालजयी योद्धाको
घाइते शरीर बाट
भलभलि बगिरहेको रक्तसमुन्द्र निहाल्दै
अमर शहीदहरूको समाधिमाथि
विजय उन्मुख झण्डा गाडेर
सतिसाल झै उभिएको
युगविजेता
जननायक
झल्झली देखिरहेको छ।

अध्यक्ष
प्रगतिशील लेखक संघ, महोत्तरी