१
घर-१
एउटा घर हुनु
भित्ताहरु नहुनु
खिरकिहरु नहुनु
दैलो नहुनु
र नहुनु छानो
यदि हुनु छ भने एक मुटु विश्वास हुनु
एक हृदय प्रेम हुनु
एक चित्त उदारता हुनु
र
खुल्ला हुनु घर
मानिससित लुकाउनलाई केही पनि
नहुनु
मानिससित बँडचुड गर्नलाई खुल्ला मन हुनु
संसार समग्रमा मनले रोजे जस्तो एउटा धर हुनु
कोही बाहिरको नहुनु
कोही भित्रका नहुनु
कोही कालो नहुनु
कोही गोरो नहुनु
कोही शक्तिशाली नहुनु
कोही कमजोर नहुनु
कोही शासक नहुनु
कोही शोषित नहुनु
एउटा यस्तै नयाँ घर हुनु पृथ्वी ।
२
आमा र युद्ध
आमाहरु कहिल्यै युद्ध चाहन्नन्
आमाहरू सधै शान्तिको पक्षमा हुन्छन्
किनभने
जब पनि दुनियाँमा युद्ध चल्छ या चलिरहेको हुन्छ
संसारमा सबभन्दा घायल आमाकै मन हुन्छ
मनभरी हजारौ प्रश्नहरूले छटपटी बढाई दिएपछि
युद्धभूमिको कहाली लाग्दो दृश्यहरूले मन थप अशान्त भएपछि
जब आमा प्रार्थना घरभित्र पसेर घुँडा टेक्छिन्
त्यती बेला आमा
र युद्धरत योद्धा एउटा एउटै लाग्छ
फरक यति हो
योद्धाको हातमा अस्त्र छ
आमाको हातमा प्रार्थनाको शक्ति
फरक यति हो
योद्धा शत्रु देशको विनाशको पक्षमा हुन्छ
आमा विश्वमा शान्ति र भाइचाराको पक्षमा
फरक यति पनि हो
उसित वारक्राइको शब्दहरू छन जसले मैदानमा डटिरहेका
सहयोद्धाहरूलाई अझ उद्वेलित पार्न सक्छ
आमासित छन त चोखो हृदय
प्रेम शान्ति व न्यायका बलिया आधार तत्वहरू जसले ईश्वरको पनि हृदय बिचलित पारिदिन सक्छ
प्रार्थना घरको उज्यालो पनि फिका हुन्छ
प्रार्थनामा लिन आमाको अनुहार सामुन्ने
त्यती बेला एउटा युद्धभूमि बनेको हुन्छ आमाको मन
जहाँ मित्र-शत्रु
पक्ष-विपक्ष आपसमा टकराई रहेका छन्
र त्यही युद्धभूमिको माझमा आमा
त्यो अल्गो कलबरीको डाँडा जस्तै ठिङ्ग उभेकी हुन्छिन
फरक यो पनि हो
आमाहरू कहिल्यै पनि युद्धको पक्षमा हुन्नन्
युद्ध पछि आमासित केही पनि बाँच्दैन
आमाहरू यो कुरा राम्ररी जान्दछिन
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।