

श्री भवानी नेपाल (युएई)
फेरि पाँच वर्षे झरी पर्यो
माटो ओसिलो भयो
पुराना बोटहरु खिइँदै गए
बोक्राहरु उक्किन थाले
पातहरु झर्न थाले
हाँगाहरु मक्किन थाले
नयाँ बिरुवाहरु फस्टाउन थाले
कतै वर्षे च्याउ भुरुरुरुरु उम्रिए
कतै गन्धेझारहरु फस्टाए
र च्याउलाई दुर्गन्धित बनाउन तल्लीन भए
किसानहरु आए
लाइन लागेर गोडमेल गरे
कसैले च्याउ रोजे
कसैले रोजे गन्धेझार
कसैले लगाए
भविष्यको औंलामा भाग्यको निशानी
कसैले लगाए वर्तमानको औंलामा स्वार्थको निशानी
झरी रोकियो
वर्षा सकियो
अर्को झरीको लागि
माटोमा अबिरको वीर्य छर्दै
च्याउको बिदाइ भयो ।
पुन: माटो पर्खिरहेको छ
उर्वर हुनको निम्ति
पुन: किसान पर्खिरहेका छन्
माटोको चुनावको निम्ति
किन कि
माटोमा गर्नुछ दूरगामी क्रान्ति
के तपाईँलाई माटोको माया लाग्दैन ?
आउनुहोस् यसपटक
माटोमा पटाहा लगाऔं
गन्धेझार निर्मुल होस्
च्याउको वीर्यले
माटोसँगको समागममा
आफ्नै आँगनमा जन्माओस्
विकासको नवजात।
इटहरी-१२ खनार
हाल: दुबई, युएई



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

