सुरेन्द्र राजभण्डारी

तिम्रो घर मुनि
गल्लि हुँदै गएँ
मैले माथि पनि हेरिनँ
थाहा छ तिमी छैनौ
त्यो झ्याल पनि बन्दै होला
एउटा लामो हाँसो सुन्ने
अभ्यस्त भैसकेको थिएँ
पर गल्लिको एक छेउमा
एउटी आमै ग्वारामरी तार्दै थिई
केटाकेटी बुढाबुढी झुम्मिएका थिए
त्यो भीडमा गुलाबी जामा लगाई
ग्वारामरी पोको पार्दै दगुर्ने
तिमी थिएनौ
तिमी हुँदो हो त
म फेरि तिमीलाई रोकेर सोध्थेँ
ओ मैचा ग्वारामरी मीठो छ ?
“किन्नु, खानु थाहा भैहाल्छ ”
हाँस्दै फर्कि फर्कि गएकी थियौ
त्यो टात्दै गरेको ग्वारामरी
म नलिइकन अगाडि बढ्नै सकिन
समय कति चाँडो पो बितेछ
सूर्योदयले आकाश रक्ताम्मे भएछ
त्यही बादलले आकाशमा
नयाँ आकृति बनाउन खोजे जस्तो भो
म फेरि तिमीलाई सम्झिन पुगें
तातो – तातो चियाको साथ
ग्वारामरी खानुको अर्कै मज्जा छ
मन्दिरको पाटीमा बसि
वरिपरि नियाल्दै थिएँ
कति बेला पो एउटा
गुलाबी पुतली उडेर
मेरो हात चुम्न आइपुग्यो
म झसङ्ग भएँ
तर तिमी साथ थिएनौ

हिजो जस्तै पो लाग्छ
तिमी र म
एक आपसमा गफिंदै थियौं
चियाको चुस्कि सँगै
ग्वारामारी खाँदै
के के कुरा गर्दै थियौं
म भने तिम्रो नजर मापन गर्दै
कता कता पो हराइ रहेको थिएँ
मन ढुक ढुक हुँदै
साह्रो र गाह्रो हुँदै गयो
तिमी भने खित्का छोडी
हाँसी रहेको थियौं
तिमी भन्दै थियौं ए सुन्छौ
ती पनि त जाँदै छन्
ती को हुन्
मलाई थाहा भएन
म भने एकोहोरो हेरिरहेँ
भन तिम्रा लागि के ल्याइदिऊ
तिमी बोल्दै गयौ
पर्दैन केही पनि
तिमी शकुशल फर्कि आउ
त्यै ठूलो मान्छु
सक्छौ भने हाम्रो माया
पोका पारी ल्याऊ
यही फेरि माया पस्कि खोलुँला
आपसमा बाँडौला
ग्वारामारी सँगै कर्याप कुरुप खाऔंला
खुब हाँसेका थियौं हामी
तर तिमी फर्किएनौ
हाम्रो माया सात समुन्द्रपारी
पिज्जा बर्गरमा हरायो
कफी र वाइनमै सेलायो

आज फेरि उनको याद आयो
त्यो गल्लि मन्दिर पाटी
सेल रोटी चिया मोमोचा
ग्वारामारी पसल सबै सबै याद आयो
म अन्तै हिँडेको मान्छे
भरेसम्म डाँडापारी पुग्नु छ
पर केही उज्यालो देख्छु
बाटो धेरै नै अप्ठ्यारो छ
सुसेली खेल्दै खोल्साहरू
गीत गाइरहेछ
अनि फेरि किन
तिम्रो याद आउँछ
तिमी हुँदो हौ त
पसिना पुछि सोध्थ्यौ होला
अझ कति जानू छ
म हाँस्दै भन्थे
लौ अब आइसक्यो मूलबाटो
चौबाटोमा उभिएर
म सोच मग्न भए
अब कतातिर जाँउ
म हरियो बेसी तर्फ लम्कंन्छु
तिमी भए हिलै गोरेटो बाटो
पो रोज्थ्यौ कि
तिमीलाई चिप्लिनुको
अर्कै आनन्द आउँछ हैन त
जिन्दगी चिप्लिनु नै त रहेछ
चिप्लिएर कोही कहाँ पुग्यो
कोही कहाँ
म भने भिर पहरा
मन्दिर पाटी गल्ली
सहरहरुमा
तिमीलाई खोजिरहें खोजिरहें