रूबन जाेश

पूरै जिन्दगी खर्च गरेर
कमाउन सकिने मृत्यु मैले मेरो प्रेमलाइ
सस्तोमा दिई दिएँ
यो तिमीले देखेको
सायद तिमीलाई भ्रम परेको
प्रेम हैन यसको लाश हो
यसको मूर्दा हो, भग्नावशेष हो
जिउँदो हुन्थ्यो भने यो तिमी सँग हुन्थ्यो

तिमीलाई हेर्न नपाउने भएपछि
मेरो भागको उज्यालो
म रात लाइ बेच्दै छु
अँध्यारोलाई
र तिमीलाई हेर्न पाउनेहरुलाई भिडाउने छु यो प्रकाश
मैले देख्नु त जरुरी छैन नै
देखिनु पनि घातक छ

तिमीले बोलेको सुन्न नपाउने भएकोले
म तिर आउने ध्वनी अनि तरंगहरु
लिलाममा राखेको छु
तिम्रो स्वास को आवाज जसले सुन्न पर्ने हो
नीरव शून्यता तिरेर लैजाओस

आफैलाई बेचेर गुजारा जो गर्थें
अचेल अतिरिक्त ब्यापारले म धनी भएको छु