बाटोले बाटो परिवर्तन गर्यो
अब के हुन्छ ?
मान्छेले बाटो छोड्यो
तर
बाटोले बाटो छोडेको थिएन
फेरि आज बाटोले बाटो छोड्यो
बाटो बाटो रहेन
मान्छे काँ जान्छ ?

जीविका अश्रु (गान्तोक, सिक्किम)

मान्छे मान्छे बन्नै लाग्दा
मान्छे जस्तै बन्यो
कहिले राम बन्यो
जुवाको खालमा मात्र युधिष्ठिर बन्यो
युद्ध मैदानमा बिर्सियो
मान्छे मान्छे बन्नै लाग्दा
मान्छे जस्तो मात्र बन्यो
अनि
कहिले भक्त बन्यो
कहिले भगवान् बन्यो
मान्छेबाट मान्छे छुट्यो
मान्छे मान्छे रहेन
बाटो बाटो रहेन
अब के हुन्छ ?

मान्छे मान्छे बन्नै लाग्दा
अनेकौं प्रतीक बन्यो
बिम्ब बन्यो अनि बुद्ध बन्यो
पृथ्वीको यो मान्छे
पृथ्वीकै उत्खननमा लागेको यो मान्छे
मात्र मान्छे बनेन
मान्छे अब के बन्छ ?
मान्छे बन्नैलाग्दा कि शासक बन्यो, कि शासित
कि राजा बन्यो, कि रैती
कि व्यवस्था बन्यो
तर
कदापि मान्छे बनेन
बाटो बाटो थिएन
यसर्थ
मान्छेको बाटो मान्छे बन्यो
अब के हुन्छ ?
अब के बन्छ ?

हामीलाई मान्छे चाहिएको छ मात्र मान्छे
जो मान्छे जस्तै होस्
रुप परिवर्तन गरिरहने मायावी बन्यो
शृंगार बन्यो
अस्तित्वमा धाबा बोल्यो
सहिद बन्यो,साथी बनेन, सहयात्री बनेन
खै के बन्यो !
तर
मान्छे ‘म’ बनेन
मलाई म चाहिएको छ
बस्
विज्ञापन बन्यो।