सुजता बस्याल

शताब्दीले
घिसार्दै पठाएको उही
डङ्गुर
गन्हाइरहेनेछ भोलिसम्म

दुई आकृतीहरु
एकको इच्छाविपरीत
एकैठाउँ हुँदा
छायाँमा एउटै जस्तो देखिएको थियो
त्यतिबेलादेखि
छायाँहरु भीमकाय लाग्छन् उ हरुलाई

प्रश्न टिप्पणी घृणासँग
अविश्वास दोहोरिने डर धम्कीहरु मिसिएर
आवाजमा लगाइएको बन्देजका बाबजुद
आएका इसाराहरु देख्ने बित्तिकै बन्द भएका आँखाहरु
आज
आ-आफ्ना समवेदनाका कारण देखाएर
आँसु बगाइरहेछन् निसंकोच

कर्तव्यको लेपन लगाएर
मुक्ति र न्यायका निम्ति गरिएका
कथित प्रयासहरु
हिँड्ने हिँडिरहेको फराकिलो बाटो
वास्तविकताको गोरेटोभन्दा
प…..रै छ रहेछ

भित्ताहरुले सुनिरहने
लगातारको चिच्याहटले
नखलबलिएका निद्राहरुको चेतना
कहिल्यै ब्यूँझने छैन

त्यसपछि

पिडकका जस्ता देखिने पैतालाले
कुल्चिएको जस्तो लाग्ने माटोमा
खतराको रातो सङ्केत देखिएजस्तो

अघि बढिरहेका हरेक हातहरु
हिंसाकै हातहरु भएजस्तो

सम्बन्धित घटनाहरुले
विगतसँग सोझो सम्बन्ध राखेजस्तो

……..

…….
.
.

अनन्त

त्यसपछि
त्यसअघिजस्तो
कहिल्यै नहुँदो रहेछ

तर
विवशतामाथि थापेको जालको मदतले
छोपेका माछाहरुले
कुनैपनि हड्डिहरु
दिगो मजबुत हुने छैनन् कदापि ।